खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । सरकारले कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनेतर्फ गम्भीर रुपमा लागिपरेको जनाएको छ ।

राष्ट्रिय किसान आयोगको आयोजनामा आइतबारदेखि काठमाडौमा सुरु भएको खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले कृषिको व्यावसायीकरण गरी त्यसमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिनुभयो । परम्परागत कृषि पद्धतिबाट जीवन निर्वाह गरिरहेको जनसंख्यालाई व्यावसायिक एवम् आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । भूमिको अधिकतम् उपयोग गर्ने, विविध बाली विकास गरी जुनसुकै समायमा उत्पादन गरिरहने र जग्गा बाँझो छाड्न नहुनेमा जोड दिँदै कृर्षिमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर सोच्न र तद्नुरुप काम गर्नु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो । उहाँले भूमि निजी सम्पत्तिका रुपमा रहनु र जमीन टुक्रिनु नै कृषि विकास र कृषिको आधुनिकीकरणका निम्ति ज्यादै ठूलो समस्या रहेको उल्लेख गर्नुभयो ।

सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, चीन, श्रीलंका, कोरिया, इण्डोनेशिया, मलेशिया, पाकिस्तान, फिलिपिन्स, भियतनामलगायत विभिन्न १५ देशका ३५० प्रतिनिधि सहभागीता रहेको आयोगले जानकारी दिएको छ ।

Advertisment