नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण वैशाखबाट

काठमाडौँ । नेपालको पहिलो सुरुङ मार्ग चन्द्रागिरि नगरपालिकाको नागढुङ्गादेखि सिस्नेखोलासम्मको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया सुरु भएको छ । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।

मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको छ । आर्थिक प्रस्तावको सबै प्रक्रिया पूरा गरी वैशाख अन्तिम सातादेखि नै निर्माण कार्य सुरु गर्ने तयारी भएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनु भयो । प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । साढे पाँच अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नं. १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण शुरु भएको छ । हालसम्म रु दुई अर्ब ४० करोड मुआब्जा वितरण भइसकेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा दुई वर्ष अघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । सुरुङ मार्गका लागि जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्नेछ । छ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने आयोजनाले छ । चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

Advertisment