नेपाल बन्दको प्रभाव काठमाडौंमा न्यून, अधिकांश जिल्ला प्रभावित

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौ उपत्यमा न्यून देखिएको छ ।

बन्दले काठमाडौमा सामान्य प्रभाव पारेको छ । बजार, यातायात सञ्चालनमा छन् भने स्कुल तथा कलेज भने बन्द भएका छन् । बन्दको प्रभाव उपत्यकाबाहिरका केही स्थानमा भने परेको छ । मकवानपुर जिल्लाको पालुङ र दामनबीचको जंगलमा चार पाँच जनाका समुहले ना ५ ख ७४११ नम्बरको ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ ।

त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै कैलालीको मसुरियामा चन्द नेतृत्वका कार्यकर्तार्ले बसमा आगजनी गरेका छन्। गौरीगंगा नगरपालिको वडा नम्बर ८ र ४ को बीचमा रहेको जंगलमा विवाहको बसमा आगजनी गरेका हुन्र । कैलालीको भजनीमा जन्ती पुर्‍याएर आएको म १ ख ४४१ नम्बरको बसमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यसैगरी कैलालीकै घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकमा तोडफोड गरिएको छ।

यस्तै बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेका नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको थियो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको थियो ।

बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामो दूरीका सवारीसाधन चलेका छैनन् । नेपालगञ्जमा छोटो दूरीका सवारीसाधन र पसल व्यवसाय आंशिकरुपमा खुलेका छन् । सरकारले दुई दिनअघि घोषितरुपमै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बम विष्फोटका घटनामा वृद्धि भइरहेका छन् ।

Advertisment