प्रचण्डको नक्कल गर्दैमा प्रचण्ड हुन सक्दैन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताउनुभएको छ । वाइसीएल नेपालले पेरिसडाँडामा आयोजना गरेको शहीद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रममा कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफलता मिल्ने बताउनु भयो ।

पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै अध्यक्ष दाहालले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको बताउनु भयो । प्रचण्डको नक्कल गर्दैमा वास्तविक प्रचण्ड हुन नसक्ने दाबी गर्नुभयो । अध्यक्ष दाहालले विप्लवलाई लक्षित गर्दै भन्नुभयो, “निधार खुम्च्याएर सोच्नुपर्छ, निरङ्कुशतामा लान सकिँदैन ।” उहाँले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताउनुभयो । उहाँले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराउनुभयो ।

Advertisment