‘महिलाकाे ३३ प्रतिशत अधिकार त्रिबिले कार्यान्वयन गर्नुपर्छ’

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका देशैभरिका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला प्राध्यापक, महिला कर्मचारी तथा बिद्यार्थीहरुले पद्यम कन्या बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख र अन्य क्याम्पसमा महिला प्राध्यापकलाई नियुक्त गर्न जोड दिएका छन् । पद्यकन्या बहुमुखी क्याम्पसकी गृह विज्ञान केन्द्रीय बिभागकी प्रमुख प्रा. डा. मनसा थापा ठकुराठीले महिला क्याम्पसमा महिलालाई नै प्रमुखमा नियुक्ति गर्न सरकारसँग आग्रह गर्नुभयो ।

त्यस्तै पद्यम कन्या क्याम्पसका उप–प्राध्यापक बिमला नेपालले संविधानले दिएको ३३ प्रतिशत अधिकारलाई प्राज्ञिक क्षेत्रमानै बिभेद गरिएको गुनासो गर्नुभयो । उहाँले नेतृत्व दिने बिषयमा सधै बिभेद गरिएको भन्दै आफुहरुपनि समान योग्यताबाट आएको स्मरण गराउनुभयो ।

यसैगरी क्याम्पसका पूर्व एकाई अध्यक्ष तुलसा पन्तले देशमा भएका परिवर्तनहरुमा महिलाहरुको पनि सहभागिता रहेको तथा कानुनले पनि महिलालाई ३३ प्रतिशत अधिकार दिएको जानकारी गराउदै त्रिबिले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisment