राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ ।

गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरु र त्यसलगतै फागुन २६ र २७ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष गोपाल किरातीले यस्तो जानकारी दिनुभएको हो । किरातीले ईण्डो–प्यासिफिक कमाण्डमा संलग्नता र सरकार–सिके राउत सहमतिको विखण्डनकारी प्रावधानसमेत तत्काल खारेज गर्न पनि महाधिवेशनले माग गरेको बताउनुभयो । महाधिवेशनले समाजवादी राष्ट्रिय एकीकरण र वर्गसंर्घषमा महान जनविद्रोहको रणनीति लिएको पनि उहाँले बताउनुभयो । हालै सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै तत्काल उक्त प्रतिबन्ध खारेज गर्नुपर्ने उहाँले माग गर्नुभयो ।

अध्यक्ष किरातीले सरकार सिके राउत र विप्लव समूहमध्ये एक पक्षसँग वार्ता तथा सहमति गर्ने र अर्को पक्षलाई दमन गर्ने रणनीतिमा रहेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच नाममा मात्रै फरक रहेको र अरु कुनै पनि कुरामा भिन्नता नरहेको आरोप लगाउनुभयो ।

Advertisment