दूरसञ्चार क्षेत्रको लागि सरकारले छुट्टै पूर्वाधार कम्पनी खोल्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

प्राधिकरणको २१ औँ वार्षिकोत्सवमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकारले दूरसञ्चार क्षेत्रको लागि छुट्टै पूर्वाधार कम्पनी खोल्ने तयारी गरेको बताउँदै सरकारले नेतृत्व गरेका कुनै पनि दूरसञ्चारसम्बन्धी कम्पनी वा संस्थाहरु कमजोर नहुने दाबी गर्नुभयो । मन्त्री बाँस्कोटाले निजी क्षेत्रप्रति नकारात्मक धारणा राख्ने भन्दा पनि समान व्यवहार गर्न आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले परिणाम आउने गरी र जनतालाई प्रत्यक्ष लाभ हुने गरी उत्सुकताका साथ इमान्दारी पूर्वक काम गरेको खण्डमा सरकारले सकारात्मक ढङ्गबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Advertisment