तयारी बिना आयोजना प्रस्ताव नगर्न अर्थ समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटमा पूर्वतयारी सम्पन्न नभएका आयोजना प्रस्ताव नगर्न निर्देशन दिएको छ ।  सिंहदरबारमा बसको समितिको बैठकले पूर्वतयारी सम्पन्न नभएका आयोजनामा बजेट बिनियोजन गर्दा फ्रिज हुने संभावना रहेको भन्दै पूर्वतयारी सम्पन्न नभएका आयोजना प्रस्ताव नगर्न मन्त्रालयहरुलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयनका लागि आवाधिक नियमावली, निर्देशिका र कार्यविधि बनाउन निर्देशनसमेत दिएको छ । यसैगरी आयोजना कार्यान्वयनको प्रगति विवरणलाई व्यवस्थित गर्न देखिएका समस्याका बारेमा १५ दिनभित्र जानकारी गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा महालेखापरीक्षक टंकमणी शर्माले आयोजना निर्माणका लागी भएका खर्च सन्तोषजनक नरहेको बताउनुभयो । त्यस्तै कतिपय खर्चहरु आर्थिक वर्षको अन्तिममा मात्र देखिने गर्दा पनि समस्या हुने गरेको जानकारी दिनुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण तीव्र रुपमा अघि बढेको र केही आयोजनामा बजेट अभाव देखिएको बताउनुभयो । सांसदहरुले भने बजेट कार्यान्वयनको अनुपातमा आयोजनाहरुको निर्माणकार्य सन्तोषजनक हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

Advertisment