चन्द नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह : कांग्रेस

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चन्दको नेकपालाई वार्तामा आउन आग्रह गर्दै सरकारलाई पनि वार्ताका लागि पहल गर्न जोड दिएको छ । त्यस्तै बैठकले नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गर्दा र सीके राउतसँगको सम्झौता गर्दा प्रतिपक्षसँग छलफल नगरेमा विरोध जनाएको छ । महत्वपूर्ण राजनीतिक घटनाक्रमका बेला प्रतिपक्षलाई विश्वासमा लिएर निर्णय लिनसमेत आग्रह गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो ।

त्यस्तै बैठकले रिक्त रहेको पदमा दुई जनाको नाम थप गर्दै अनुशासन समितिलाई पूर्णता दिएको छ । बैठकले पाँच सदस्यीय अनुशासन समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरेको प्रवक्ता शर्माले जानकारी दिनभयो । बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । प्रवक्ता शर्माले समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र टेकराज पौडेल सदस्य रहको जानकारी दिनुभयो । बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ ।

Advertisment