काठमाडौंलगायत पहाडी क्षेत्रमा होली मनाइँदै

काठमाडौं । आज फागु पूर्णिमा । काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा आज होली मनाइँदै छ । तराई मधेशका जिल्लामा भोलि मात्र मनाउने गरिन्छ । ठाउँ अनुसार होरी, होली, फागु, फगुवा, वसन्त उत्सव आदि नामले यो पर्व मनाइन्छ। होली होलिका वध भएको प्रसंगसँग जोडिएको छ। असत्य माथि सत्यको विजय भएको खुशीयालीमा होली मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । तिथिको हिसाबले चतुर्दशी तिथि भए पनि फागुपर्व अर्थात् होली मनाइँदैछ। त्यसो त आज बिहान ९:४८ बजेपछि पूर्णिमा तिथि लागेकाे छ।

प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिका दिन होली मनाउने परम्परा छ। होलीको सुरुवात भने फाल्गुण शुक्ल अष्टमीमै हुन्छ। रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सबैको अनुकुल हुने ठाउँमा ठड्याइन्छ। अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ भनिन्छ। मुख्य दिन भने पूर्णिमा वा चैत्र कृष्ण प्रतिपदालाई लिइन्छ।

होली पर्व नेपालमात्र नभई विश्वका विभिन्न देशमा भिन्न भिन्न प्रकारले मनाउने गरिन्छ । उत्साहको पर्वका रूपमा मनाउने होलीको विश्वभर नै महिमा रहेको पाइन्छ । विशेषतः एशियामा यसको प्रभाव बढी छ । हिन्दू, ईश्लाम र बौद्ध धर्मावलम्बीले यो पर्वलाई विशेषताका साथ मनाउने गरेको पाइन्छ । खाडी मुलुकमा होलीको रौनक भिन्नै हुन्छ ।

होलीमा लगाइने रंगका बेग्लाबेग्लै महत्त्व छ। प्रकृतिमा भएका सबै रंगहरूको प्रतीक हो होलीमा लगाइने रंग। पहिले पहिले प्रकृतिबाटै प्राप्त हुने रंगहरूबाट होली खेलिन्थ्यो। वनस्पति वा फूलबाट रंग बनाएर प्रयोग गरिन्थ्यो। आजभोली होलीमा विभिन्न प्रकारका रासायनिक रंगको प्रयोग भएको पाइन्छ । जसले मानिसको स्वास्थ्यमा गम्भीर हानी पुर्याउँछ ।

फागु अर्थात् होलीले मानिस मानिसबीच सद्भाव र एकता कायम राख्न मनाउने गरिन्छ । सामाजिक सम्बन्धलाई नवीकरण गर्ने र मजबुत बनाउने अवसरको रुपमा होलीलाई लिइन्छ ।

Advertisment