रङ दल्दै आपसमा खुशी साटासाट

काठमाडौं । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । रङ दल्दै आपसमा खुशीयाली साटासाट गरेर मनाइने रङ्गको पर्व होलीको उमङ्ग शुरु हुन थालेको छ ।

आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा रंग दलेर रमाइरहेका छन् । आपसी खुशी साटासाट गरेर मनाउँदै एक अर्काका भाइचारा विस्तार हुने भएकाले होलीको आफ्नै विशेषता रहेको छ ।

आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न संघ संस्थाले अनुमति लिएका छन् ।

काठमाडौको बसन्तपुरमा बिदेशी पर्यटकहरु पनि होली पर्वमा रमाइरहेका छन् । हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्रल्हादलाई मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशीयालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ ।

Advertisment