काठमाडौंको भृकुटी मण्डपमा ३ दिनसम्म पुष्प मेला

काठमाडौं । २२औँ पुष्प मेला काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ ।

चैत १० गतेसम्म संचालन हुने मेलामा ८४ वटा पुष्प स्टलहरु रहेका छन् । फ्लोरिकल्चर एशोसिएन नेपालले आयोजना गरेको प्रदर्शनीमा अफिसिल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी ४ वटा, ल्याण्डीकेपिङ्ग ४ वटा र बाँकी ६५ वटा व्यवसायिक स्टल रहेको छ । प्रदर्शनीमा ४५० थरिका फुलहरु राखिएको छ ।

मेलाको उद्घाटन कृषि राज्यमन्त्री रामकुमारी चौधरीले गर्नुभएको थियो । कार्यक्रममा उहाँले फूल व्यवसायलाई बिकास र प्रवद्र्धन गर्न सरकारले निरन्तर प्रयत्न गरेको धारणा व्यक्त गर्नुभयो ।

देशको विभिन्न उत्पादन भएको पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रवद्र्धन, बिस्तार नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र जनचेतना जोगाउन मेला आयोजना गरेको आयोजकले बताएको छ । मेला अवलोकनकर्ताको सुविधाको लागि फुडस्टल २ वटा छुट्टाइएको छ । ३ दिनसम्म चल्ने मेलामा ५० हजारले अवलोकन गर्ने र ६० लाख बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको छ । नेपालमा हालसम्म करिब १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । आर्थिक वर्ष २०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको छ भने निर्यात तर्फ २.३७ करोड बराबरको निर्यात भएको छ ।

Advertisment