भक्तपुरको बिस्केट जात्राको तयारी, भैरव र भद्रकालीको रथ निर्माण गरिदै

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य तौमढीमा शुरु भएको छ । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण शुरु गरिएको हो ।

लिच्छवीकालदेखि शुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर शुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको छ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी शुरुको दिन तौमढीमा रथ तान्ने, चैत्र मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गोे उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते तौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ ।
जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्राएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

Advertisment