मुलुक समृद्धि र विकासका लागि लामो समय पर्खन नपर्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागि सरकारले अब लामो समय पर्खन नपर्ने बताउनुभएको छ । .

काठमाडौको भृकुटिमण्डपमा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटनमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न, तीव्र गतिका साथ बहुआयामीक विकास आवश्यक रहेको बताउनुभयो । मुलुकभित्रको व्यापार बिस्तारका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । सरकार एकाधिकार एकलौटी गर्ने पक्षमा नरहेको भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक क्षेत्रलाई कम गर्दै नीजि क्षेत्रलाई प्रोत्साहन गरिने स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाँले व्यवसाय गर्नका लागि अनुकुल वातावरण बनाउन सरकार तयार रहेको भन्दै नयाँ कानुनका आवश्यक मस्यौदा तयार पार्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकको बिकासका लागि आन्तरिक तथा बाह्य लगानी भित्राउन आवश्यक हुने भन्दै त्यसका लागि नै लगानी सम्मेलनको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ मा महासंघका अध्यक्ष भवानी राणाले व्यापार घाटा घटाउनका लागि आयातलाई प्रतिस्थापन गरि निर्यात बढाउन बस्तु उत्पादनमा सहज वाताबरण बनाउनुपर्ने बताउनुभयो । लगानी सम्मेलनमा सहभागी अन्य प्रतिनिधिसँगै नीजि क्षेत्रले पनि सहभागीता जनाउन पाउँदा गर्वको महसुस भएको बताउनु भयो ।

आगामी १८ चैतसम्म चल्ने मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बंगलादेशबाट ४० वटा व्यवसायीका स्टल रहेका छन् । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायत विधागत प्रदर्शनी गरिएको छ । मेलाको स्वदेशी र विदेशी गरी १ लाख बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

Advertisment