पहिले शेयर परेका व्यक्तिलाई दोश्रो आयोजनाको शेयर नपर्ने

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओमा आवेदन गरेका ५० हजार २६७ जनाले १० कित्तासहित कूल ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

आईपिओमा आवेदन गरेका कूल एक लाख ५४ हजार ५५९ आवेदन सदर भएको थियो । जसमध्ये १ लाख ४ हजार २९२ जना आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त आईपिओ शेयर बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल ६७ वटा आवेदन रद्ध भएको छ । जसमध्ये दोहोरो आवेदन गरेका कारण १९ आवेदकबाट परेको ३८ र संस्थागत आवेदनबाट परेको २९ वटा आवेदन पनि रद्ध भएको हो । आईपिओबाट कम्पनीले ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । उक्त आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ भने प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको ऊर्जामन्त्री पुनले जानकारी दिनुभयो ।

यस्तै ऊर्जामन्त्री पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ । ऊर्जामन्त्री पुनले बिपन्न बर्गका लागि लक्षीत गर्दै जलविद्युत आयोजनाको शेयरको व्यवस्था गरेको भन्दै पहिले शेयर परेका व्यक्तिलाई दोश्रो आयोजनाको शेयर नपर्ने स्पष्ट पार्नुभयो । उहाँले तामाकोशी ५ लगाएत आयोजनाको शेयर खुल्ने बताउनुभयो ।

कम्पनीले कूल ३७ लाख ५ हजार कित्तामध्ये कर्मचारीलाई छुट्टाएर ३५ लाख ९३ हजार ८५० कित्ता शेयर निष्काशन गरेको थियो । नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो । पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो । बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्ने आयोजनाले जनाएको छ ।

Advertisment