‘विप्लव समूह पार्टी नभइ कुनै गिरोह’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको बताउनु भएको छ ।

काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ कमिटीको पहिलो बैठक तथा सपथ ग्रहणमा पार्टी अध्यक्ष ओलीले कम्युनिस्टको बर्को ओढेर जे पनि गर्न पाइन्छ भन्ने नसोच्न विप्लवलाई चेतावनी दिनुभयो । उहाँले विप्लवको नाममा कम्युनिस्टको बर्को ओडेर सिद्धान्त नजानेकाले गृहमन्त्री रामबहादुर थापाले लुटपाट गर्न दिन्न भन्दा आलोचना खेप्नु परेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वितण्डा मच्चाउन खोज्ने तत्वलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको चर्को आलोचना गर्नुभएको छ । आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको भन्दै कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको समेत टिप्पणी गर्नुभयो । ओलीले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरिने प्रतिवद्धता जनाउनुभयो । गुटबन्दीले आफैलाई हानी हुने भन्दै उहाले गुटबन्दीका कारण कमजोर हुने र बलियो हुँदा सरकारमा पुग्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपाका ३ नम्बर प्रदेशका सदस्यहरुको सपथ पनि गराईएको थियो । मंसिर १२ गते बसेको सचिवालय बैठकले तत्कालीन नेकपा एमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ गरी २ सय १७ सदस्यीय प्रदेश कमिटी गठन गरेको थियो । नेकपाले अष्टलक्ष्मी शाक्यलाई प्रदेश तीन नम्वर ईन्चार्जको जिम्मेवारी दिएको छ ।

Advertisment