मानिसको मृत्युको प्रमुख कारण अस्वस्थ खानपान: अध्ययन

मानिसको मृत्युमा अस्वस्थकर खाना र जीवनशैली नै विश्वमा अन्य कुनै पनि कारणभन्दा बढी जिम्मेवार रहेको पाइएको छ । विश्वमा प्रत्येक पाँचमध्ये एक जनाको मृत्यु कुपोषणको कारण हुने गरेको तथ्यांक विज्ञहरूले बिहीबार सार्वजनिक गरेका छन् । विज्ञहरूले चिनी, नून र मासुको अधिक सेवनको कारण प्रत्येक वर्ष लाखौं व्यक्तिको मृत्यु भइरहेको बारे पनि सचेत गराए ।

संयुक्त राष्ट्रसंघको अनुसार झण्डै एक अरब मानिस पर्याप्त पोषण तत्वको अभाव झेलिरहेका छन् भने करिब दुई अरब मानिस आवश्यकताभन्दा बढी पोषण तत्व सेवन गरिरहेका छन् । भर्खरै लान्सेट मेडिकल जर्नलमा प्रकाशित एक अनुसन्धान प्रतिवेदन अनुसार अधिकांश मानिसहरूले गलत किसिमका खाना खाने गरेको पाइएको छ ।

१ सय ९५ वटा देशमा गरिएको सो अध्ययनमा मानिसहरू स्वास्थ्यका हिसावले हानिकारक र निम्नस्तरको खाना खाने गरेको उल्लेख छ । औसतमा मानिसहरू चाहिनेभन्दा १० गुणा बढी चिनीयुक्त गुलिया पेय पदार्थ र ८६ गुणा बढी नूनयुक्त वस्तुको सेवन गर्ने गरेको देखिएको छ ।

सन् १९९० देखि २०१७ सम्मको अवधिमा उपभोग र रोगको प्रवृत्तिबारे गरिएको अध्ययनले बहुसंख्यक मानिसले स्वस्थकर जीवनशैलीलाई आवश्यक पर्ने सग्ला अन्न, फलफूल, कन्दमूल, गेडागुडी र सागसब्जी अति नै कम मात्रामा मात्र उपभोग गर्ने गरेको देखिएको छ ।

सन् २०१७ मा एक करोड दश लाख मानिसको मृत्यु असन्तुलित खानाको कारण भएको र त्यसमध्ये पनि करिब १ करोड मानिसको मृत्यु मुटुरोगका कारण भएको थियो । त्यसमध्ये ९ लाख १३ हजार मानिसको क्यान्सरको कारण र बाँकी मधुमेहको कारण मृत्यु भएको थियो ।

पोषणसम्बद्ध मृत्युदर सबैभन्दा बढी उज्बेकिस्तानमा र सबैभन्दा कम इजरायलमा देखिएको छ । उज्बेकिस्तानको भन्दा इजरायलको मृत्युदर १० गुणा कम हो ।

Advertisment