भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा

भक्तपुर । भक्तपुरको विस्केट जात्रामा तानिने भैरवनाथ र भद्रकालीको रथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

अहिले रथमा छानो राख्ने र रंग लगाउने काम भइरहेको छ । भद्रकालीको रथ पनि छिट्टै निर्माण सुरु हुने प्रक्रियामा छ । रथ तान्नु एक दिन अगाडि दुवै रथ निर्माण र रंगरोगनको सम्पूर्ण काम सकिने बताइएको छ । चैत २७ गते टौमडीमा भैरवनाथ र भद्रकालीको रथ यात्रा शुरु भएपछि विधिवत रुपमा बिस्केट शुरु हुन्छ । वर्षको अन्तिम दिन बेलुकी लिङ्गो उठाइन्छ भने वैशाख १ गते ढालिन्छ ।

यस्तै ८ रात ९ दिनसम्म मनाइने ऐतिहासिक तथा प्रसिद्ध बिस्का अवधिभर भक्तपुरमा रहेका अष्टमात्रिका, गणेश र भैरवका मन्दिरहरु रहेको स्थानमा छुट्टा छुट्टै जात्राहरु हुन्छन् ।

यसैबीच, भक्तपुरको बिस्कालाई शान्तिपूर्ण र मर्यादित रुपमा भव्यताका साथ सम्पन्न गर्न भक्तपुर नगरपालिकाले विभिन्न तयारी गरिरहेको छ । रथ यात्रा हुने मार्गमा रहेका निर्माण सामाग्रीहरु, बिजुली, केबल, इन्टरनेटका तारहरु हटाउन नगरपालिकाले सार्वजनिक सूचना नै जारी गर्ने भएको छ । नगरपालिकामा सरोकारवालहरुको बैठकले चैत २७ गते र ०७६ वैशाख ५ गते भैरवनाथको रथ तानेर पूर्वमा बढीमा बुलबुल हिटी, सुकुलढोकासम्म र पश्चिममा बढीमा नासमनासम्म मात्र लाने सीमा निर्धारण गर्ने, ती दिनहरुमा भैरवनाथको रथ दिनको २ बजेबाट तान्न सुरु गरेर साँझ ६ बजेसम्ममा निर्धारित स्थानमा रथ बिसर्जन गर्दै शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

Advertisment