नेवार समुदायले पाँहाचह्रे चाड धुमधामका साथ मनाए

काठमाडौं । काठमाडौंमा असन जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष नेवार समुदायको चाड पाँहाचह्रेको घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्याएर जात्रा मनाउने परम्परा छ । तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एकआपसमा घुमाइन्छ ।

यसक्रममा तीन दिदी बहिनीको रथ ठोक्काउने नभई एक अर्कालाई आदर र सम्मान गरिन्छ । जसमा दियोसहितको चिलाख साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा रथ जुधाउने भन्ने प्रचलन रहिआएको हो । रथ असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ । यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ । यसक्रममा विशेष गरी असन र वरिपरि घरका चेलीबेटीलाई पाहुना बोलाई भोज खुवाउने चलन छ ।

असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ । यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।

Advertisment