सबै कम्युनिस्ट पार्टी एक होऔं : वैद्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर बृहत् पार्टी बनाउन पहल गर्ने बताउनुभएको छ ।

काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम अधिवेशनको उद्घाटन गर्दै वैद्यले नेत्रविक्रम चन्द, मोहन विक्रम सिंह, गोपाल किराँती लगायतलाई एकीकरणको मोर्चामा आउन आग्र्रह समेत गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई भने सरकारी कम्युनिस्ट नामको संज्ञा दिनुभयो । समय अनुसार चुनावलाई कहिले उपयोग र कहिले बहिष्कार गर्नुपर्ने भन्दै वैद्यले सबैले एक स्थानमा आउनुपर्ने समयको माग भएको जिकिर गर्नुभयो । चन्द समूहमाथिको प्रतिबन्ध, सिके राउतसँगको ११ बुँदे सम्झौता र राजपाको सांसद रेसम चौधरीलाई आजीवन कारावासको सजाय अमेरिकन साम्राराज्यवादको निर्देशन भएको उहाँले बताउनुभयो । सरकारले घोषणा गरेको ‘सम्वृद्धि र विकास’ को नारा सफल नहुने भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गफमात्र भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाउनुपर्ने बेला आइसकेको बताउनुभयो । कम्युनिस्टको नाममा नेकपाले इज्जत फालेको उहाँको आरोप थियो ।

Advertisment