पुर्खाको थोक राइनासकोट

लमजुङ । नेपालको हिमाल, पहाड र तराई नै विविधता युक्त बोकी बसेको छ । यहाँको हावापानी, वनजंगल, कृषि, नदीनाला, तालातलैया अनि यससँग जोडिएको बहुसास्कृतिक विषय र बहुजातीको विविधताले सिंगो नेपालको इतिहासलाई उँचो बनाएको छ । हरेक स्थलहरु पर्यटकीय स्थानको रुपमा चिरपरिचित छन् । चार नम्बर प्रदेश अन्तर्गतको लमजुङ जिल्ला राइनस नगरपालिकाको राइनसकोट अन्य ऐतिहासिक, सास्कृतिक र पर्यटकीय स्थलहरु झै सम्पूर्ण दृष्टीमा आकर्षणमय छ । लमजुङ्मा अग्ला अग्ला पहाडको चुच्चो/थुम्कोमा धेरै वटा कोटहरु छन् । अन्य कोटहरु भन्दा पनि महत्व बोकेको ऐतिहासिक कोट हो राइनसकोट । गुरुङ भाषामा राई भनेको अग्लो र नासा भनेको ठाउँ हो । यसैबाट बुझ्न सकिन्छ कि यो अग्लो ठाउँमा छ भनेर । दुध पोखरी, सुन्दरबजार, पालमटार नगरपालिका र दोर्दी गाउँपालिकाले चारैतिरबाट घेरिराखेको राइनस नगरपालिकाको यो अग्लो थुम्को राइनसकोट प्राकृतिक रुपमा पनि सुन्दर छ ।

एक पुराणमा उल्लेख भएअनुसार उत्तराखण्डमा अवस्थित चम्पावती (चेपे) र कर्मदा (मस्र्याङ्दी) को संगम स्थल अति पवित्र मानिन्छ । यो संगममा नुहाउनाले ‘राग’ भनेको रिस र नाश भनेको नाशिने हुनाले राग नाश पछि अपभ्रंस भई राइनास भएको भन्ने किवंदन्ती पनि छ । यो संगमको सय गज भित्र प्राण त्याग गरेमा मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसरी सास्कृतिक संकेतको रुपमा राइनासलाई बुझ्न सकिन्छ ।

यशोब्रम्ह शाहकी रानीबाट द्रब्य शाह सामान्य पुरुष छैनन् तिमीहरु भन्दा पराक्रमी छन् त्यसैले रागिनास जानु भन्ने हुकुम भएअनुसार द्रव्य शाह रागिनाश गएका थिए । द्रब्य शाहले फौजी सन्तुलनलाई ध्यान दिई घले गुरुङहरुबाट बचाउन मजबुतको किल्ला निर्माण गरे । पछि यसलाई राजधानीको रुपमा समेत विकास गरे । रागिनाशकोटको दरबारको भग्नाबशेषहरु अझै प्रष्ट देख्न सकिन्छ । केही समय अगाडी नेपाली सेनाले यसको मर्मत समेत गरेको थियो । राइनासकोटमा भक्ति थापाले विर्ता पाएकाले भारदारी घर बनाएका थिए जुन हालसम्म पनि छ । लमजुङ राज्यका संस्थापक राजा यशोब्रम्ह शाहकी रानी बसन्तावतीले गोधन बृद्धि गर्ने उद्देश्यले यस ठाउँमा खरबारीको गुठी राखि दिएकी थिइन् । पहिले गाउँ शहरमा दरबार निर्माण गरी राजमुकाम हुनुभन्दा पहिले बाह्रथर भन्ने ठाउँमा सिपाहीको टुकडी स्थायी रुपमा बस्ने तिलङ्गा घर टहराहरुको निर्माण भएका थिए । हाल पनि त्यसका अवशेषहरु छन् । यस ठाउँमा तामा पाइएकाले सो तामा झिकी तामाखानीको रुपमा विकास गरी त्यस तामाबाट पैसा काट्ने टक्सारको स्थापना गरिएकोले यसलाई टक्सार पनि भनियो । यसै ठाउँमा पाँचवटा थुम्को, टाकुरो भएकोले यो ऐतिहासिक महत्वको राइनासमोहरियाकोट क्षेत्रको टाकुरो पनि पर्दथ्यो ।

सास्कृतिक र ऐतिहासिकता जस्तै प्राकृतिक रुपमा पनि राइनासकोट उत्तिकै महत्वपूर्ण छ । राइनासकोटबाट सूर्योदय राम्रोसँग देख्न सकिने भएकाले सूर्य उदाएको दृश्र्य हेर्न आन्तरिक र बाह्य पर्यटकहरु आउने गर्दछन् । यो टाकुरोबाट पूर्व दक्षिणतर्फ फर्केर हेर्दा राइनासटारको सम्म परेको भू–भाग, हरिया फाँटहरु, अविरल बगिरहेको चम्पावती (चेपे) खोला देख्न सकिन्छ । बसन्तको आगमनमा दरबार क्षेत्र वरपर विभिन्न जातको रुखहरुमा पालुवा पलाउने र लालीगुराँसले ढकमक्क ढाक्ने हुँदा अति रमणीय देखिन्छ । विभिन्न जातका चराचुरुङ्गीको मधुर ध्वनीले मनै लोभ्याउँछ । दरबार क्षेत्रमा कालिकाको मन्दिर पनि छ । कालिका गुठीको नाममा जग्गाहरु समेत भएको वि.सं. १९९६ को लगतबाट बुझ्न सकिन्छ ।

पुर्खाहरुले छोडेको नासो राइनासकोटको पर्यटकीय विकास गरौं । पुर्खाको थोक राइनसकोटलाई सर्वत्र चिनाऊ ।

प्रस्तुति : सूर्यनाथ पराजुली (लमजुङ)

Advertisment