‘खुल्लामञ्चका सटरहरु भत्काइन्छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा अतिक्रमण गरेर बनाइएका व्यवसायिक सटरहरु भत्काइने बताउनुभएको छ ।

महानगरमा सरोकारवाला स्थानीयहरुको ध्यानाकर्षण पत्र बुझ्दै शाक्यले अनुगमनको रिपोर्ट आउने बितिकै व्यवसायिक सटरहरु भत्काइने बताउनुभएको हो । उहाँले खुलामञ्च बिक्री प्रकरणबारे उपमेयरलाई अनुगमन गरेर रिपोर्ट दिन निर्देशन दिएको भन्दै अहिलेसम्म रिपोर्ट नै प्राप्त नभएको बताउनुभयो । आफ्नै महानगरकी उपमेयर हरिप्रभा खड्कीलाई चिठ्ठी नै पठाएर रिपोर्ट बुझाउन आग्रह गरिएको उहाँले बताउनुभयो । शाक्यले उपमेयर खड्कीले कांग्रेसको कार्यकर्ता बनेर खुलामञ्च प्रकरणमा राजनीतिक गरेको आरोप पनि लगाउनुभयो ।

त्यस्तै उहाँले आफुलाई धम्काउने गरेको पनि गुनासो गर्नुभयो । खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौताभन्दा विपरित गएर नयाँ संरचना बनाइएको जानकारी पाए लगतै यसबारे आफुले चासो देखाएको उहाँले दाबी गर्नुभयो ।

सो क्रममा भीमसेनदास प्रधानले खुलामञ्च बिक्री प्रकरणमा संलग्न जो कोहीलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले खुलामञ्च अतिक्रमण रोक्न निरन्तर दवाव दिईने पनि बताउनुभयो । काठमाडौंको सबैभन्दा ठूलो खुला क्षेत्रमा रहेको खुलामञ्च हाल बसपार्कको रुपमा संचालन हुँदै आई रहेको छ । नियम, मापदण्ड र सहमति विपरित ४० वटा नयाँ सटर निर्माण गरी बिभिन्न क्रियाकलापहरु भएपछि स्थानीयहरु आन्दोलनमा उत्रेका हुन् । निर्माण भएका सटरहरु डोजर लगाएर नहटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

Advertisment