‘महानगरकै मिलेमतोमा खुल्लामञ्च अतिक्रमण’

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा खुल्लामञ्चमा डोजर लगाईएको बताउनु भएको छ ।

खुल्लामञ्च बचाउ अभियान्ताहरुले आयोजना गरेको कार्यक्रममा नेता प्रधानले खुल्लामञ्चमा बनेको अवैध पसल, टहरा निर्माणको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीको निर्देशनमा टहरा हटाउन महानगर बाध्य भएको बताउनुभएको हो । नेता प्रधानले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरको द्वन्द्वले समस्या समाधान नहुने देखिएपछि आफुहरुले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले आफुसँग भएको अधिकार प्रयोग गर्न नसकेको समेत आरोप लगाउनुभयो । महानगरकै मिलोमतोमा खुल्लामञ्च अतिक्रमण भएकोले यसमा संलग्न जोकोहीलाई पनि कारवाही हुनुपर्ने उहाँको धारणा थियो ।

त्यस्तै प्रदेश नं ३ का सांसद बिराज भक्त श्रेष्ठले सार्वजनिक सम्पतीको संरक्षणका लागी दलिय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक नेपालीमा मुलुकको अपनत्व हुने महशुस सरकारले गराउनुपर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा स्थानीयहरुले सरकारी सम्पतीमा आँखा लगाउने भू–माफियालाई जनताको माझ ल्याउन स्थानीय तह र जनता जागरुक हुनुपर्ने धारणा राखेका थिए ।

Advertisment