लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिने : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसमाथि अंकुुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्नुभएको छ ।

१६औं अन्तरर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बाँस्कोटाले लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिने समेत बताउनुभयो । उहाँले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त भएको तर्क गर्नुभयो ।

उहाँले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने दाबी गर्नुभयो । सञ्चारगृह कसैको अभीष्ट पूरा गर्ने थलो बन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति नभइ जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पूर्वअध्यक्ष हरिहर विरहीलगायतले प्रेस स्वतन्त्रता उल्लंघन हुनुमा पत्रकार पनि दोषी भए नभएको खोजी गर्ने बेला आएको धारणा राखेका थिए । कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको थियो ।

Advertisment