आमाको एक मात्र तीर्थ मातातीर्थ

काठमाडौं उपत्यकाको दक्षिण पश्चिम भेगमा रमणीय प्राकृतिक भू–भागले सजिएको महाभारत पर्वत श्रृंखला चन्द्रागिरि पहाड अन्तरगत शाखा पर्वतमा रहेको वन महालक्ष्मी र बतासेदूलो वनको फेदीमा परापूर्वक समय देखि मानिदै जानिदै आएको आमाको तीर्थ मातातीर्थ रहेको छ । यसको काखमा विभिन्न ऐतिहासिक ग्राम र द्रङ्गहरु छन् । वन औषधिले भरिएको मनै लोभ्याउने यो प्राकृतिक सितलतामा जो कोही व्यक्ति एक पटक आउँछ आफूलाई हराएको पाउँछ । यस ऐतिहासिक तथा सास्कृतिक स्थानको वर्णनहरु विभिन्न पौराणिक ग्रन्थहरुमा गरिएको पाइन्छ । साथै जनश्रुतीहरु पनि प्रशस्त सुन्न पाइन्छ ।

एक वंशावलीअनुसार यो स्थान किराँतहरुको राजधानी हो । किराँतहरुले पहिला राज्य यही गरेका थिए । त्रेतायुगमा वनबासको क्रममा रामचन्द्र यस स्थलमा आइपुग्दा किराँतहरुसँग घमासान युद्ध भयो । युद्धबाट आक्रान्त सीतालाई पानी प्यास लागेपछि रामचन्द्रले बाण हानी पानी निकाली सीताको प्यास मेटाएका थिए । त्यस्तै यस महान भूमीमा द्वापरयुगमा श्रीकृष्ण यात्राको सिलसिलामा आउँदा दुई नरकीहरुले देखेर मृत आमाको दर्शन गर्न पाऊँ भनी विन्ति गर्न थाले । कृष्णले नजिको कुण्डमा लगि आमाको दर्शन गराइदिनु भयो भन्ने पनि सुन्न पाइन्छ । स्वर्गका राजा इन्द्र गौतम ऋषिको श्रापका कारण यस पवित्र स्थलमा स्नान गर्न आएको कुरा पुराणमा पाइन्छ । वैद्यराज आश्विनीकुमारले पनि यहाँको यात्रा गरेको पाइन्छ । स्कन्दपुराण, हिमवत् खण्ड, नेपाल महात्म्यमा मातातीर्थको महात्म्य छ । सो महात्म्यमा ने–मुनिले विरुपाक्षलाई सुमेधा वैश्यको कारुणीक कथा सुनाएका थिए । मातृसंसर्गको पापले कुष्ठरोगी भएका विरुपाक्षलाई रोगबाट मुक्त गराउन औषधिय गुणले युक्त यस जलकुण्डमा स्नान गराई आमाको दर्शन गराएको वर्णन पाइन्छ । पैशाची भाषामा ९ लाख कविता लेख्ने कवि गुणाढ्यले मातातीर्थको बारेमा वर्णन गरेअनुसार सुवर्णतिलका बुट्टाभएका माछाहरु यहाँ पाइन्छन् । आज पनि कुनै कुनै सिजनमा देख्न सकिन्छ । आमा कुण्ड पछाडी भू–गर्वमा विशाल पोखरी रहेको सो पोखरीबाट कहिलेकाही पुराना (क्वाइन ) मुद्रा बगाइ लेराउने गरेको अनी त्यही पोखरीबाट कालो भ्यागुता र बुट्टाभएको माछाहरु आमा कुण्डसम्म आउने गरेको जीर्णोद्वार गर्ने कर्मीहरु बताउँछन् । मध्यकालीन समयमा सुलकी बंशले यहाँको संरचना बनाउन ठूलो सहयोग गरेको पाइन्छ ।

जननी जन्मभूमिश्य स्वर्गादपि गरियसी आफू जन्मेको भूमि र जन्म दिने आमा स्वर्ग भन्दा प्यारा हुन्छन् । बैशाख कृष्ण पक्षको औंशी (मातातीर्थ औंशी) का दिन नेपालीहरु यस स्थानमा अघिल्लो दिनदेखि नै आइ जाग्राम बसी भोलिपल्ट स्थान गरि आमाकुण्डको दर्शन गर्ने चलन छ । ग्वालाहरुको बसाइको समय देखि नै अर्थात् गोपाल बंशको शासन देखि नै यो प्रचलन रहेको पाइन्छ । भारत, बर्मा, मलाया, बंगलादेश आदि देशहरुबाट समेत तीर्थाटन गर्न पर्यटकहरु आउने गर्दछन् । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको यस दिन ठुलो घुइँचो लाग्ने गर्दछ । यो मेलामा सरकारी पुजा समेत हुने गर्दछ । सम्पूर्ण जातजातीहरुले एकै स्थानमा फरक फरक शैलीले पुजा गर्ने र आफ्नो आमा सम्झने गर्दछन् । मृत्यु भएको आमाको नाममा बत्ती बाल्ने, श्राद्ध गर्ने अनि जिउँदो आमालाई मिठो मिष्ठान्न खुवाई आर्शिवाद लिने गरिन्छ । धार्मिक सहिष्णुता यसको मुख्य विशेषता हो ।

संसारमै आमालाई पुजा गर्ने, सम्झने कुनै तीर्थ स्थल वा ऐतिहासिक वा सास्कृतिक स्थान छैन । जुन नेपालीसँग छ । यस ऐतिहासिक स्थलको सुन्दर व्यवस्थापकीय कार्य गरि यहाँको प्रकृती र संस्कृतीसँग पर्यटको भावना साट्न पाए यहाँको यो भूमी अझै प्रख्यात हुने थियो । यस अवसरलाई आम नेपालीले छोप्नु पर्छ । यस मानेमा काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र वरपरका बासिन्दा गौरवान्दित छन् । सबै आमाहरुलाई नमन् ।

प्रस्तुती : रविन्द्र रिजाल

Advertisment