मातातीर्थ औँसी : आमाको सम्झना गरिदै

काठमाडौं । बैशाख कृष्णपक्ष औँसीको दिनमा नेपालीहरुले मनाउने मातातीर्थ औँसी अर्थात् मातृऔँसी पर्व मनाइएको छ ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभआर्शिवाद थाप्ने दिनका रूपमा यो पर्व मनाइन्छ । छोराछोरीले आफ्नो आमालाई राम्रा लुगा लगाइदिने, मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गरिन्छ । दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा प्रत्येक वर्ष यसैदिनमा मातातीर्थमा मेला लाग्ने गर्दछ । आमा नहुनेले मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् । सके प्रत्येक वर्ष नसके एक पटक मात्र भएपनि मातातीर्थमा श्राद्ध गरे पितृले मोक्ष पाउने जनविश्वास रहिआएको छ ।

Advertisment