‘मेरो सरकार’ जानीबुझि राखिएको शब्द : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम केही लामो भए पनि सबै कुरा समावेश भएको भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको संशोधनको प्रस्तावमा सच्चाउनुपर्ने कुरा केही नभएको समेत बताउनुभयो । प्रधानमन्त्रीले ’मेरो सरकार’ भुलचुकले नभई जानी बुझीकनै राखिएको शब्द भएको स्पष्ट पार्नुभयो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले ’मेरो सरकार’ भन्नु दुनियाँ भरको अभ्यास भएको उल्लेख गर्दै बेलायतकी महारानीजस्तो भन्नु अशोभनीय भएको उहाँले बताउनुभयो ।

संविधान संशोधनका सम्बन्धमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलील प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार नरहेको भन्दै केन्द्र सरकार मातहत नै रहेको कुरा कुनै अनौठो नभएको प्रष्ट पार्नुभयो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रदेश समन्वय परिषद र अरु समन्वयकारी कामहरु भइरहेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समृद्ध नेपाल र सुखी नेपालीको सपना मात्रै नदेखेको भन्दै पुरा गर्ने संकल्प नै बोकेको धारणा पनि राख्नुभयोे ।

प्रधानमन्त्री ओलीले शान्ति, स्थिरता र स्थायित्वलाई नीति तथा कार्यक्रमले समेटेको भन्दै राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमानका विषयलाई अत्यन्त महत्वपूर्ण ढंगले समेटिएको जिकिर गर्नुभयो । शिक्षा, स्वास्थ्य सुशासन, दिगो शान्ति, छिमेक सम्बन्धलगायतका परिवर्तनको अनुभूत गर्ने नीति तथा कार्यक्रममा समेटिएको प्रधानमन्त्री ओलीको दाबी गर्नुभयो ।

Advertisment