प्रधानमन्त्रीले सांसदहरुको अपमान गरे : काग्रेस

काठमाडौं । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुकै अपमान गरेको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा विरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा आएका प्रश्नको जवाफ दिने क्रममा आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नोत्तर दिन सुरु गरेपछि कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ती जनाउनुभएको थियो । विश्वकर्माको नियमापत्तीपछि सभामुख कृष्णबहादुर महराले ध्यानाकषर्ण भएको बताएपनि कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीले शब्द फिर्ता लिनुपर्ने र उक्त शब्द रेकर्डबाट हटाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । कांग्रेसको नाराबाजीका बीच सभामुख महराले जवाफ दिन भनेपछि प्रधानमन्त्री ओलीले रेकर्ड खोलेर आफुले बोलेको शब्द सुन्न चुनौती दिनुभएको थियो । प्रधानमन्त्री ओलीले रिसाउँदै प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्दै आक्रोस पोख्नु भएको थियो ।

कांग्रेस सांसदहरुको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले सांसदहरुले गरेका प्रश्नको संक्षिप्त उत्तर दिनुभएको थियो ।

Advertisment