तानाशाही व्यवस्था कांग्रेसलाई मान्य नहुने : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था कांग्रेसलाई मान्य नहुने स्पष्ट पार्नुभएको छ ।

काठमाडौंमा पार्टीको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको शुभारम्भ गर्दै सभापति देउवाले राणा शासन र राजा फालेका कांग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभएको हो । सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख निरिह बनेर बसेको आरोप लगाउँदै संसद् विपक्षको भएको र सरकार सत्तापक्षको भएका सदनमा विपक्षीले बोल्न पाउनुपर्ने तर्क गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख हुनु संविधानको मर्म र भावनाविपरीत भएको बताउँदै उहाँले जागरण अभियानमार्फत् सरकारको गलत गतिविधिबारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिनुभयो । स्थानीय तहबाट केन्द्रीय सदस्य प्रतिनिधि भएर आउने व्यवस्थाबारे पार्टीभित्र छलफल गर्ने सभापति देउवाले बताउनुभयो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बाणकृष्ण खाँणले जनताको प्रश्न संसदमा राख्न खोज्दा सरकारको प्रधानमन्त्रीले गैरसंसदीय भाषाको प्रयोग गरेको आरोप लगाउनुभयो । उहाँले जागरण अभियानलाई नयाँ शैलीले अगाडि बढाउन खोजेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जागरण अभियानले पार्टीलाई जगाउने काम गरेको धारणा राख्नुभयो । बुधबारबाट शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म देशभर चल्नेछ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर हुने कांग्रेसले जनाएको छ ।

Advertisment