समृद्ध नेपाल बन्न संगीतको भूमिका महत्वपूर्ण हुने : जोशी

काठमाडौं । सस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको पहिचानमा संगीतको विशेष भूमिका रहने बताउनु भएको छ ।

काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा कलानिधि इन्दिरा संगीत महाविद्यालयको ५६औं वार्षिक उत्सवमा जोशीले कोही व्यक्ति पनि संगीतबाट टाढा रहन नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा पहिलो पटक शास्त्रीय संगीतको औपचारिक रुपमा पढाइ सुरु गरेको महाविद्यालयले समाज र राष्ट्रलाई पुर्याउँदै आएको योगदानको पनि खुलेरै प्रशंसा गर्नुभयो । मन बहलाउनको लागि मात्र नभई राष्ट्रको पहिचानमा संगीतको विशेष भूमिका रहेको पनि उल्लेख गर्नुभयो । उहाँले अहिलेको सरकारले समृद्धिको नारा लगाइरहँदा समृद्धिको लागि संगीत नभए समृद्ध हुन नसक्ने दाबी गर्नुभयो । सस्कृतविद् जोशीले संगीत विषय हरेक स्कुल, क्याम्पसमा अनिवार्य शिक्षाको रुपमा पढाइ हुनु पर्ने उल्लेख गर्नुभयो । उहाँले आ–आफ्नो तरिकाले संचालन भइरहेको संगीत पाठशालालाई एकै ठाउँमा आउन पनि आग्रह गर्नु भएको थियो ।

यसैगरी पूर्व संस्कृति तथा उड्यन मन्त्री रामकुमार श्रेष्ठले संगीत क्षेत्रलाई टेवा पुर्याउने एक मात्र संस्था कलानिधि इन्दिरा संगीत महाविद्यालय रहेको बताउनु भयो । उहाँले देशको पहिचान र गौरब चिनाउन संगीतले महत्वपूर्ण भूमिका खेल्ने पनि जिकिर गर्नुभयो । विविध कारणले संगीत क्षेत्रमा बढ्दै गएको निराशाका कारण विश्व मञ्चको संगीत क्षेत्रमा नेपाल कमजोर देखिएको उल्लेख गर्नुभयो । संगीतलाई अन्य राष्ट्रले विशेष महत्व दिएको हुँदा कलाकारहरुको जीउने आधार बनेको पाइन्छ । तर, हाम्रो देशमा त्यस्तो ब्यवस्था नहुँदा कलाकार पलायन हुने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले संगीत महाविद्यालयको लागि इन्दिरा श्रेष्ठले पुर्याउनु भएको योगदानलाई सबैले कदर गर्नुपर्ने समेत बताउनुभयो ।

त्यस्तै कलानिधि इन्दिरा संगीत महाविद्यालयका अध्यक्ष इन्दिरा श्रेष्ठले कुनै पनि व्यक्ति सफलतामा पुग्न अर्को व्यक्तिको सहयोग अपरिहार्य हुने उल्लेख गर्नुभयो । उहाँले कलाकारिता यस्तो पेशा हो जुन कलाकार मरेपनि उसको कृति सधै रहिरहने बतानु भयो ।

कार्यक्रममा कलानिधि इन्दिरा संगीत महाविद्यालयले १० जना स्रष्टाहरुलाई कलानिधि संगीत सम्मानबाट सम्मान गरेको थियो ।

Advertisment