स्की एण्ड स्नोबोर्डिङ फाउण्डेशन स्की खेल प्रशिक्षणमा सक्रिय -अन्नपूर्ण आधार शिविरमा स्की प्रशिक्षण

पोखरा, १ फागुन (रासस) ः हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णको आधार शिविरमा स्की खेलसम्बन्धी प्रशिक्षण हुने भएको छ । पर्याप्त सम्भावना भएर पनि नेपालमा स्की खेलको विकासमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको वास्तविकता र नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारी अन्नपूर्ण क्षेत्रमा स्की र स्नोबोर्ड विषयक प्रशिक्षण गर्न लागिएको हो ।

नेपाल माउन्टेन एकेडेमीसँगको सहकार्यमा स्की एण्ड स्नोबोर्डिङ फाउण्डेशन नेपालले स्की र स्नो बोर्डसम्बन्धी प्रशिक्षण दिन लागेको फाउण्डेशनका अध्यक्ष उत्सव पाठकले जानकारी दिनुभयो । स्की गाइड नेपाल, स्की संघ नेपाल र नेपाल पर्यटन वोर्डको त्यसमा सहयोग रहेको छ । फाउण्डेशनका अध्यक्ष पाठकका अनुसार नले सन् २०१६ देखि देशका विभिन्न स्थानमा स्की तथा स्नो बोर्ड सम्बन्धी प्रशिक्षण दिँदै आएको छ । हालसम्म करीब १०० जनाले यससम्बन्धी प्रशिक्षण लिइसकेको उहाँले बताउनुभयो ।

“नेपाल स्कीको धेरै सम्भावना बोकेको देश भएर पनि हालसम्म यससम्बन्धी प्रशिक्षकको अभाव छ”, फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले भन्नुभयो, “स्कीका सम्भावनालाई उजागर गर्दै दक्ष प्रशिक्षक तयार गर्नका लागि प्रशिक्षण आयोजना गरेका हौँ ।” फाउण्डेशनले सन् २०१६ यता रोल्वालिङ, दोलखाको कालिञ्चोक, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरापिक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र अन्नपूर्ण आधारशिविरमा स्की तथा स्नो बोर्डसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ । यस वर्ष अन्नपूर्ण आधार शिविरमा यही फागुन ३ देखि नौ गतेसम्म हुने प्रशिक्षणमा ११ प्रशिक्षार्थी सहभागी हुनेछन् । जर्मनीका जुलीयस सेडेन्डर, एन्ड्रियस म्यानुयल, इटलीका निकोला डेमोजी र नेपालका रत्न कंसाकार प्रशिक्षकका रुपमा रहेका छन् । प्रशिक्षणका लागि टोली आज अन्नपूर्ण आधारशिविरतर्फ प्रस्थान गरेको छ । शनिबारबाट प्रशिक्षण शुरु हुनेछ । समुद्री सतहदेखि अन्नपूर्ण आधारशिविर चार हजार २०० मिटरको उचाइमा रहेको छ । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने हिमाल, हिमचुली र मौसममा पर्ने हिउँका कारण स्की नेपालका लागि धेरै सम्भावना भएको खेल हो । यसको विकास गर्दै अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति गराउननका लागि पनि यस किसिमको प्रशिक्षण बहुउपयोगी बन्ने विश्वास लिइएको छ ।

स्की हिउँ जमेको समय हिउँदमा हिउँमा चिप्लेर खेलिने भएकाले यो हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउनका लागि पनि महत्वपूर्ण मानिन्छ । युरोपेली मुलुकमा स्की खेल धेरै पहिलेदेखि चल्दै आए पनि नेपालमा यसको थालनी केही वर्षअघि मात्रै भएको हो । नेपालमा सन् २०१६ मा पहिलोपटक रसुवाको लाङटाङमा स्की प्रतियोगिता गरिएको थियो ।

पहिलोपटक लाङटाङको केञ्जिङ उपत्यकामा सम्पन्न उक्त प्रतियोगितामा १२ खेलाडी सहभागी थिए । अघिल्लो वर्ष मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की च्याम्पियनसीप २०१९ भएको थियो । प्रतियोगिताअन्तर्गत स्नो बोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडी सहभागी थिए ।

Photo: Ski and Snowboarding Foundation Nepal

प्रतियोगिताकै निरन्तरतास्वरुप हालै मुक्तिनाथमा माघको तेस्रो साता तेस्रो राष्ट्रिय स्की च्याम्पियनसीप २०२० प्रतियोगिता सम्पन्न भएको छ । हिउँदको समयमा विदेशी पर्यटकका लागि नेपाल ‘अफ सिजन’ जस्तै भएको र यस समयमा हिमाली क्षेत्रमा स्की सञ्चालन गर्न सकिने भएकाले पर्यटकीयरूपमा यसको विशेष महत्व रहेको नेपाल स्की एशोसिएशनका महासचिव विजय श्रेष्ठले जानकारी दिनुभयो ।

अन्नपूर्ण आधार शिविरमा गर्न लागिएको स्की प्रशिक्षणलाई महत्वका साथ हेरिएको छ । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको चुचुरोमा फ्रान्सेली नागरिक मौरिस हर्जोेग पुगेसँगै अन्नपूर्ण आधार शिविरको ख्याति फैलिएको हो । पहिलो आरोहण भएको हिमाल भएकै कारण अन्नपूर्ण प्रथमलाई जेठो हिमालका रुपमा लिने गरिन्छ । यसको उचाइ आठ हजार ९१ मिटर छ । अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर आठ हजार ८४८ मिटर अग्लो सगरमाथा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
पदयात्रा पर्यटनका लागि पनि विश्ववकै उत्कृष्ट गन्तव्यमध्येमा पर्ने अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले सन् १९६६ मा पदयात्रा गरेका थिए । अन्नपूर्ण आधार शिविरमा यस वर्ष गर्न लागिएको स्कीको प्रशिक्षणले यसको समग्र विकासमा टेवा पुग्ने विश्वास लिइएको फाउण्डेशनका अध्यक्ष उत्सव पाठकको भनाइ थियो ।

यसअघि स्की एण्ड स्नोबोर्डिङ फाउण्डेशन नेपालले हिमपातपछि जमेको हिउँको उपयोग गर्दै दोलखाको कालिञ्चोक गाउँपालिकाको कुरी क्षेत्रमा गत माघ ९ देखि ११ गतेसम्म प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गरेको थियो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरूलाई लक्षित गरी कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालीम, महोत्सव र प्रतियोगिता आयोजना गरेको थियो । महोत्सवमा दश प्रशिक्षकबाट इच्छुकलाई साधारण ज्ञान तथा अनुभवीलाई प्रशिक्षण दिइएको जनाइएको छ । –––

Advertisment