‘लकडाउन’ मा महिला हिंसाका उजुरी

नेपाल प्रहरीमा दर्ता भएका महिला हिंसाका घटनाका आधारमा ‘लकडाउन’ यता महिला हिंसाका घटना घटेको छ । प्रहरीले घटना नै कम भएको दाबी गरिरहँदा महिला अधिकारका क्षेत्रमा कार्यरतले भने घटना बढेपनि बाहिर आउन नसकेको बताएका छन् ।

पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा एक महिनामा सयभन्दा बढी महिला हिंसाका उजुरी आउने गरेकमा ‘लकडाउन’ पछि झण्डै २० वटा मात्रै उजुरी आएका छन् । यो अवधिमा अरु अपराधका घटनासँगै महिला हिंसाका घटनामा पनि कमी आएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । अधिकांश घरेलु हिंसाका कारण मादक पदार्थ भएपनि अहिले ‘लकडाउन’ पछि मादिराको किनबेच कम भएकाले सेवनमा कमी आएको छ । उहाँले भन्नुभयो, “मदिरा कम भएपछि महिलामाथि हुने हिंसा कम भएको छ ।”

त्यस्तै, पहिले श्रीमान वा श्रीमान श्रीमति नै घर बाहिर काममा जाने हुँदा एक अर्काप्रति अविश्वासले पनि झगडा हुने गरेको उहाँले बताउनुभयो । ‘लकडाउन’ पछि सबै परिवार सँगै बस्दा पारिवारिक वातावरणमा घर झगडा कम भएको छन् । कोभिड–१९ का त्रासका कारण पनि यी घटनामा कमी आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सामान्य अवस्थाभन्दा हिंसाका घटना कम भएको छ ।”

कोही महिला पीडित नै हुँदा पनि प्रहरी कार्यालयसम्म जान नसकेको हुन सक्ने भन्दै परिसरले तीनलाई लक्षित गरी विशेष व्यवस्था मिलाइएको बताएको छ । ‘लकडाउन’ को समयमा प्रहरी कार्यालय जान नसकेका पीडित महिलाले मौखिक उजुरी पनि लिइरहेको परिसरले जनाएको छ । प्रहरीले १०० नम्वर वा नजिकैको प्रहरी कार्यालयमा फोन गरेर पनि उजुरी गर्न सक्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । पीडित महिलाले यी नम्वरमा फोन गरेपछि प्रहरी आफैँ ती महिलाको घर पुग्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “प्रहरीले घरमा नै पुगेर उजुरी लिन शुरु गरेको छ ।”

यो अवधिमा हिंसाका घटना कम नभएपनि ती प्रहरी वा संस्थासम्म पुग्न नसकेको महिला पुर्नस्थापना केन्द्र (ओरेक) की कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाले बताउनुभयो । नेपालमा धेरै अध्ययनले महिला हिंसाका घटनामा पीडक परिवारकै सदस्य वा छिमेकी भएको देखिएको छ । ‘लकडाउन’ का समयमा छिमेकीसम्म आउजाउ नभएपनि परिवारका सदस्य घरमै हुँदा हिंसा अझै बढेको हुनसक्ने उहाँले बताउनुभयो । महिलाले पहिले हिंसा सहन नसकेको अवस्थामा सुरक्षित आवास (सेफ हाउस) मा बसेर पनि मुद्धा अघि बढाएका थिए । उहाँले भन्नुभो, “अहिले त्यसो गर्न नसक्ने अवस्था भएकाले पनि उजुरीकै लागि नगएको हुनसक्छ ।”

ओरेकले ‘लकडाउन’ को शुरुदेखि नै हटलाइन नम्वर र परामर्शदाताको नम्वर दिएर आवश्यक सुझाव दिइरहेको छ । यी नम्वरमा अहिलेसम्म ८३ जनाले आफ्ना समस्या राखेका छन् । यीमध्ये कतिपय महिला अहिले पनि प्रहरी कार्यालय पुग्न सकेका छैनन् । अहिलेको अवस्था हेरेर कतिपय महिला ‘लकडाउन’ पछि नै उजुरी गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । सुकुम्वासी वस्तीमा र मजदूर वर्गमा हिंसाका घटना बढीरहेको उहाँले बताउनुभयो । उहाँले विश्वका धेरै देशमा हिंसाका घटना बढेका छन्, नेपालको पनि अवस्था त्यस्तै छ भन्नुभयो ।

प्रहरीले ‘लकडाउन’ मा समाजमा घटिरहेका अरु अपराधको सम्भावित घटना रोक्ने र घटना भइहालेमा त्यसको अनुसन्धान गरी कारवाही अघि बढाइरहेको छ । ‘लकडाउन’ मा अरु अपराधका घटनामा पनि उत्तिकै ध्यान दिइएको प्रवक्ता बोगटीले बताउनुभयो । यो अवधिमा अपराधका घटनामा भने ह्वात्तै कमी आएको छ । उल्लेखनीय रुपमा आत्महत्याका घटनामा कमी आएको छ । परिसरमा सामान्य अवस्थामा महिनामा ५५ देखि ६० वटासम्म आत्महत्याका घटना भएको देखिन्छ । ‘लकडाउन’ पछिको झण्डै एक महिनामा भने अहिलेसम्म नौ वटा मात्रै आत्महत्याको घटना भएको पाइन्छ ।(रासस)

Advertisment