काठमाण्डौका अधिकांश ठाउँहरु डुबानमा

आइतबारदेखि सुरु भएको भारी वर्षाले सोमबार काठमाडौं उपत्यकामा पनि क्षति पुर्‍याएको छ । वाग्मती लगायतका उपत्यकाका नदीहरुमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरु डुवानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिँदै भनेको छ, साउन ४ देखि ९ गतेसम्म देशैभरि भारी वर्षा हुन्छ । सोमबारसम्म आइपुग्दा विभिन्न जिल्लामा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याइसकेको छ । नदीहरुको सतह बढेका कारण जोखिम उच्च हुँदै गइरहेको छ ।

पहाड र तराई क्षेत्रको तुलनात्मकरुपमा सुरक्षित मानिने काठमाडौं उपत्यका पनि बाढीबाट अछुतो रहेन । अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थान जलमग्न भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा केही घरपरिवार प्रभावित भएका छन् । केहीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

पहाड र तराई क्षेत्रको तुलनात्मकरुपमा सुरक्षित मानिने काठमाडौं उपत्यका पनि बाढीबाट अछुतो रहेन । अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थान जलमग्न भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा केही घरपरिवार प्रभावित भएका छन् । केहीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बढ्दो शहरीकरणका कारण नदीहरु साँघुरिँदै जाँदा उपत्यकामा हरेक वर्ष बाढीले क्षति पुर्‍याउने गरेको छ । गत वर्ष बल्खु, कलंकी लगायतका क्षेत्रमा पनि बाढीले यसैगरी क्षति पुर्‍याएको थियो ।

गएराति गएको पहिरोका कारण काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीमा २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको छ ।

मेयर श्रीकृष्ण थापाका अनुसार घरबाहिरै बसेका वेला माथिबाट पहिरो खसेपछि घटना भएको हो ।’उहाँसँगै अन्य व्यक्तिहरु पनि हुनुहुन्थ्यो तर, अरु केही अगाडि भएका वेला घटना भएछ’, थापाले अनलाइनखबरसँग भने, ‘भूकम्पका वेला चर्किएको जमिन खस्दा उहाँ पुरिनुभयो, लगत्तै उहाँलाई निकालिए पनि ज्यान गइसकेको रहेछ ।’

उनका अनुसार नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ बाढी र पहिरोबाट प्रभावित छन् । यो नगरपालिका भएर मनोहरा र बाग्मती खोला बग्छ । अहिले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको उनले बताए ।

सुकुम्बासी वस्ती डुबानमा, कीर्तिपुरमा १७ को उद्दार

भारी वर्षाका कारण बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमती लगायतका खोलामा पानीको वहाव बढेको छ । जसका कारण नदी छेऊका वस्ती डुबानमा छन् ।

बाग्मतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी वस्ती जलमग्न भएको छ । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरु पनि डुवानमा परेका छन् । टेकु, बल्खु र कीर्तिपुरका सुकुम्बासी वस्तीका मानिसहरुलाई उद्धार गर्न प्रहरी परिचालन नै गर्नुपरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार कीर्तिपुरको सुन्दरीघाटबाट १७ जनालाई उद्दार गरेर सुरक्षित स्थानतर्फ सारिएको छ ।

नागार्जुन नगरपालिका-६, इचाटोलमा रहेको ट्याम्पो पार्कमा पनि पहिरोले एक घरमा क्षति गरेको छ । पेप्सीकोलामा ६५ वषर्ीया दुर्गा कटवालको घर अगाडि बरण्डाको भागमा पनि पहिरो गएको छ । यद्यपि, क्षति सामान्य छ ।

पशुपतिमा रहेको एक पुजा पसलमा रुख ढलेपछि अन्दाजी ३५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हनुमन्तेमा आएको बाढीले भक्तपुरमा पनि डुवान

अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ ।

बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए ।

वडाध्यक्ष गोराका अनुसार हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए । घरमा बाढी पस्दा जमिनको सतह भन्दा करिब चारफिट माथि पानी आएको गोराले अनलाइनखबरलाई जानकारी दिए ।

राममन्दिर बाराहीस्थानदेखि डाक्टर इवामुरा मेमोरियल अस्पताल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको उनले बताए ।

वडा १ का अध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ । बाढीले धानबाली नष्ट गरे पनि आफ्नो वडाको बस्तीमा बाढी नपसेको उनले बताए । ‘अहिले दुई तीन घरमा पानी पसेको छ,’ वडाध्यक्ष खत्रीले भने, ‘सृजनानगर बाढीको जोखिम क्षेत्र हो ।’

हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ । चाँगुनारायणमा ३ घर परिवार पहिरोका कारण जोखिममा रहेका छन् । र, सुरक्षित स्थानमा सारिएको छ । पिपलबोटमा सकुमाया श्रेष्ठको घर अगाडिको पर्खाल पनि भत्किँदा २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घर समेत जोखिममा रहेको बताइएको छ ।

Source Onlinekhabar.com

Advertisment