थानकोट चित्लाङ सडक बन्नमा कसैले रोक्न सक्दैन : मन्त्री फुयाल

  • ज्ञानेन्द्र महत

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले काठमाडौं मकवानपुर जोड्ने गणेशमानसिंह मार्ग थानकोट चित्लाङ सडक बन्नमा अब कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

गणेशमानसिंह मार्ग निर्माण सरोकार समितिले आयोजना गरेको स्थलगत निरिक्षणमा मन्त्री फुयालले थानकोट र चित्लाङबासीहरु बाटो निर्माणमा उत्साहित देखिएकोले अब यो बाटो बन्ने निश्चित भएको उल्लेख गर्नुभयो । उहाँले बाटो निर्माणमा राजनीति नगरी राष्ट्र र राष्ट्रियतालाई प्राथमिकतामा राखी नेपालको राष्ट्रिय झण्डा मुनिरहि निर्माण कार्य बढाउन समेत आग्रह गर्नुभयो । मन्त्री फुयालले प्राचित ऐतिहासिकता बोकेको बाटो निर्माण भएपछि काठमाडौंबाट नजिकै रहेको पर्यटकीय स्थल चित्लाङ र चित्लाङबासीको मुहारै फेरिने बताउनु भयो । उहाँले थानकोट देखि कुन्छालसम्मको बाटो निर्माणमा तीनै तहको सरकार एकीकृत भएर बनाउने र आजको यो बसाइलाई एतिहासिक दिन बनाइने पनि उल्लेख गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘क्रिया भएपछि प्रतिक्रिया अवश्य आउँछ, बाटो बनाउँदा अनेक आरोप लाग्न सक्छ, त्यसलाई चिर्दै अघि बढ्न सक्नुपर्छ । गाली र ताली खान नसक्ने व्यक्ति नेतृत्व बन्न सक्दैन । हाम्रो समाजमा विकासका काम गर्ने र श्रम गर्ने व्यक्तिलाई जबसम्म सम्मान गर्ने वातावरण बन्दैन तबसम्म नेतृत्वलाई आरोप आउनु सामान्य हो ।’ उहाँले निर्माण कार्य गर्दा निस्कने ढुंगाकै कारण यसअघि बाटो निर्माण कार्य रोकिएकोले अहिले सबै कानूनी प्रक्रिया पुरागरी सकेको हुँदा बाटो बन्नमा कहि कतैबाट बाधा हड्चन नआउने बताउनु भयो ।

बागमती प्रदेश सांसद, उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति तथा गणेशमानसिंह मार्ग निर्माण सरोकार समितिका संयोजक रमा आले मगरले सडक निर्माणको जिम्मा पाएको कम्पनीको समयावधि थप गरी ठेकेदारलाई काम गर्ने वातावरण बनाइ दिन मन्त्री फुयालसँग आग्रह गर्नुभयो । उहाँले बाटो निर्माण कार्य संघीय सरकार मातहत भइरहेको र प्रदेश सरकारले कोडिनेशनको काम मात्र गरिरहेको जानकारी गराउनु भयो । जनताबाट चुनिएकोले नागरिकको सुरक्षा र सहजता नै पहिलो कर्तब्य भएको बताउँदै आफ्नो संयोजकत्वमा बन्न लागेको प्राचीन, ऐतिहासिकता बोकेको बाटोको निर्माण कार्य जसरी भएपनि सम्पन्न गरी छाड्ने अठोट गर्नुभयो ।

पछिल्लो समय अन्य व्यक्ति र आफुलाई जोडि ठकेदारसँग मिलेर ५० लाख लिएको आरोप संचार माध्यमले लगाएकोले त्यसलाई प्रमाणित गर्न चुनौती दिनुभयो । यदि आजको दिनसम्म त्यस्तो कुनै भ्रष्टाचार गरेको प्रमाण भेटिए सांसद पदबाट तुरुन्त राजीनामा दिई जस्तो सुकै कारवाही भोग्न पनि तयार हुने बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, कसैले आरोप लगाउँदैमा केही हुँदैन, आफ्नो नेतृत्वमा काम सुरुभएको २९ दिन भइसक्यो, केही महिनामै काम सकिन्छ, अब बाटो निर्माण सम्पन्न भएरै छाड्छ, कसैले रोक्न सक्दैन ।

त्यसैगरी चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष श्याम बलामीले एतिहासिक र प्राचिन महत्वको यो बाटो अहिलेसम्म नबन्नुको रहस्य के हो भन्दै प्रश्न उठाउनु भएको थियो । उहाँले मुख्यतः चित्लाङ क्षेत्रको जनजीवन, त्यहाँको उत्पादन र सामाजिक, आर्थिक दैनिकीमा यो बाटो नबन्नाले गम्भीर असर पुगिरहेको बताउनु भयो । उहाँले जनस्तरमा बाटो निर्माण हुनुपर्छ भन्ने विषयमा कुनै विवाद नरहेको तर राजनैतिक खिचातानी र प्राकृतिक स्रोत माथि गिद्दे नजर लगाई रहेका माफियाहरु र केही स्वार्थ समूहका कारण बाटो बन्न ढिलाई भइरहेको उल्लेख गर्नुभयो । साथै बाटो निर्माण गर्न बनेको सरोकार समितिमा स्थानीय सरोकारवालाहरुको अधिक सहभागिता र सर्वस्वीकार्यतासहितको वातावरण निर्माणमा जोड दिन संयोजकलाई आग्रह गर्नुभयो । वन वातावरण र स्थानीय स्तरमा कुनै प्रकारको समस्या नआउने गरी वैज्ञानिक र व्यवहारिक पक्षलाई पनि मिलाएर जान ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, पार्टी प्रतिनिधि, थानकोट चित्लाङ, सडक योजनाका इञ्जिनियर, सहायक इञ्जिनियर, निर्माण व्यवसायी संघका ठेकेदार, चन्द्रागिरि सामुदायिक वनका सचिव, चित्लाङ तथा थानकोट क्षेत्रका स्थानीय सरोकारवालालगायतले आ–आफ्ना भनाई राखेका थिए ।

Advertisment