कुहीरो, नागबेली नदी र हिमालसहितको पहाडी दृश्य हेर्न मानहुँमा मानिसको भीड उस्तै

अमरराज नहर्की

तनहुँ, ४ मङ्सिर । दमौली वरपर बिहानै फैलने तलाउँजस्तो कुहिरीमण्डल सेताम्य भुँवाको मैदानजस्तो देखिन्छ । घाम बढ्दै कुहिरो खुल्दै गएपछि हिमालको शिरबाट चुहिएको पानी बगेको मादी नदी नागबेली परेको मनोरम दृश्य देखिन थाल्छ । पर हिमालले पहरा दिएको पृष्ठभूमिमा पहाडी हिमाली दृश्य देखिन्छ । मानहुँ उक्लदा यस्तो मनोरम सुन्दर दृश्य देखिन्छ । यही दृश्य हेर्न यतिबेला मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन्छ । व्यास नगरपालिका–५ स्थित यस ठाउँमा दिनहुँ पर्यटकको घुँइचो लाग्ने गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणले देशका अन्य ठाउँमा चहलपहल कम भए पनि यहाँ भने विगतमा भन्दा झनझन बढी आन्तरिक पर्यटक भित्रिएका छन् । विशेष गरी दमौली बजार कुहिरोको घुम्टो ओढेको लोभलाग्दो दृश्य हेर्न यहाँ भीड लाग्छ । यस्तो दृश्य सूर्योदय र सूर्यास्तमा मनमोहक देखिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई धार्मिक प्रसङ्गसँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि व्यासका पीता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग सम्भोग गर्न लागेको समय लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको प्रसङ्गहरु उल्लेख छ । त्यही कुुहिरोका कारण दशैँयता पर्यटकको संख्या ह्वात्तै बढ्न पुगेको छ ।

‘मानहुँको सौन्दर्यताले छक्कै बनायो, जता हे¥यो त्यतै रमणीय । स्वर्गकै टुक्रा जस्तै लाग्यो’, मानहुँ घुम्न जानु भएका लोक तथा दोहोरी गायक रितकुमार श्रेष्ठले भन्नुभयो । विभिन्न भागबाट मानहुँकोटमा आन्तरिक पर्यटकको भीड बढेको छ । मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ लगायतका हिमशृङ्खला देखिन्छ । सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम र निर्माण स्थल लगायतको मनोरम ठाउँ देखिन्छ । मानहुँबाट व्यास नगरपालिकाको १४ वटै वडा देखिन्छ ।

‘गतवर्ष पर्यटकीय मौसममा दैनिक २÷३ सय हाराहारीमा पर्यटक आउथे, दशैँ पछिको पहिलो शनिबार त दश हजार भन्दा बढीको भीड उर्लियो । थामी नसक्नु भीड भयो हामी अचम्ममा प¥यौं’, व्यास नगररपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले भन्नुभयो । आजभोलि मानहुँकोटको चर्चा जताततै छ । ‘सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको जमात पनि बाक्लो छ सा¥है खुसी लागेको छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

होटल व्यवसायी उत्साहित

मानहुँकोटमा पर्यटकको भीडबढेसँगै दमौली र आसपासका होटलमा व्यापार फस्टाएको छ । त्यसले गर्दा सात महिनासम्म कोरोनाले थला परेको दमौलीका होटल व्यवसायीहरु उत्साहित भएका छन् । ‘कोरोनाको सङ्क्रमणले थिलो परेको अवस्थामा होटल बुक हुन थालेपछि धेरै राहत मिलेको छ’, क्षेत्रीय होटल सङ्घका वरिष्ठ उपाध्यक्ष विकास खनालले भन्नुभयो । बिदाको दिन धेरै पर्यटक आउने भएकोले भरिभराउ हुने गरेको खनाल बताउनुहुन्छ । पाहुनालाई बास बसाल्ने क्षमताको होटल मात्रै नभएर दमौली आसपासमा साना चिया पसलमा पनि व्यापार बढेको छ । मानहुँकोटमा पर्यटकको चापले दमौलीका मोटरसाईकल वर्कसप सञ्चालक र टेन्ट भाँडामा दिने व्यापार पनि फस्टाएको छ ।

तनहुँ पर्यटन विकास समितिका उपाध्यक्ष माधवबहादुर पन्तले मानहुँमा पर्यटक बढेको देख्दा खुसीको सीमा नरहेको बताउनुभयो । ‘वर्षौदेखि देखेको सपना बल्ल पुरा हुने क्रममा छ, सबै जना एक जुट भएर पर्यटन विकासमा लाग्नु जरुरी देखिएको छ’, उपाध्यक्ष पन्तले भन्नुभयो । मानहुँकोटले गर्दा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पनि भीड बढेको बन्दीपुरका पर्यटन व्यवसायीले बताएका छन् । ‘बन्दीपुर बास बसेर बिहानै मानहुँ जानेहरुको सङ्ख्या बढी रहेको छ, एक ठाउँमा बढेको पर्यटनको आर्कषणले अर्को ठाउँमा पनि टेवा पु¥याएको छ’, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाईका सभापति बैँस गुरुङले बताउनुभयो । सदरमुकाम दमौली बजारबाट पृथ्वी राजमार्गमा पर्ने चापाघाटबाट ६ किलोमिटर मोटरबाटो उक्लिएपछि मानहुँ पुग्न सकिन्छ ।

टिकटकले चिनाएको ठाउँ

 

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएसंँगै टिकटक बनाउनेका लागि मानहुँ आर्कषक गन्तव्य बनेको छ । यहाँ बनाएको टिकटक भाइरल भएपछि मानहुँकोट जाने युवायुवतीको सङ्ख्या वृद्धि भएको हो ।

टिकटकमा सुन्दर दृश्यहरु देखेर टिकटक नबनाउनेहरुलाई पनि जाउँ जाउँ बनाएको छ । टिकटकमा देखेको मनोरम कुहिरोले लोभ्याएर मानहुँ पुगेको चितवनकी मीना सुवेदी अधिकारीले जानकारी दिनुभयो । ‘मैले पनि टिकटक बनाए एक लाख भन्दा बढीको भ्यू छ, सबै भन्दा धेरै भ्यू मानहुँकोटमा बनाएको टिकटिकको आयो ।’ टिकटक भाईरल भएपछि फोटो खिच्न र भिडियो बनाउन युवायुवती यहाँ व्यस्त हुने गरेका छन् । टिकटक र सामाजिक सञ्जालमा दृश्यहरु देखेर मात्रै मानहुँकोटको बारेमा जानकारी प्राप्त भएको बन्दीपुरका पर्यटन व्यवसायी विकास श्रेष्ठले बताउनुभयो । ‘छक्कै परिने दृश्य देखियो, जान मन लागेको छ भीड बढी भएकोले कोरोनो जोखिम देखियो, अल्लि पछि जान्छु’, नजिकबाट प्रकृतिलाई नियालेर टिकटक बनाउन पाइने भएकोले मानहुँकोट रोजाइमा परको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो ।

सङ्क्रमण रोक्न चुनौती

एकै दिनमा १० हजार भन्दा बढी पर्यटक आउन थालेपछि कोरोना भाईरसको सङ्क्रमण रोक्न स्थानीय प्रशासनलाई चुनौति थपिएको छ । कोरोना भाइरसको जोखिमसँगै मानहुँकोटमा फोहोर मैला व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ । सरकारले तोकेको सुरक्षाको मापदण्ड पालना गर्न मिल्ने गरी स्थानीय तहसँग समन्वय गरी पर्यटक पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । तीन हजार मोटर साईकल, बस, जीप गरी दुई सय वटा सवारी साधन बिदाको दिन आउन थालेकोले ट्राफिक व्यवस्थापन गर्न पनि मुस्किल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

मानहुँकोटमा पर्यटन पूर्वाधारका लागि संरचना निर्माणको काम भईरहेको समयमा सोचे भन्दा धेरै बढीको घुँइचो लागेकोले ३०० जनालाई मात्रै जान अनुमती दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । अहिलेको अवस्थामा सर्वसाधारणको भीड बढ्नु जोखिमपूर्ण भएकोेले एक दिनमा ३०० पर्यटकलाई जान अनुमती दिईएको उहाँले जानकारी दिनुभयो । शनिबार दशौं हजारको भिड लाग्ने गरकोले संक्रमणको डरले संख्या सीमित गरिएको उहाँले जानकारी दिनुभयो । फोहोर व्यवस्थापनको लागि नगरपालिकाले चार टिप्पर फोहोर उठाएको सिग्देलले बताउनुभयो । ‘भाइरल रुपमा प्रचार भएपछि मानहुँको समस्या र थप सम्भावना पत्ता लगाउन कार्यपालिकाको बैठक पनि मानहुँकोट बसिसकेको छ’, प्रमुख प्रशासकीय अधिकृत सिग्देलले भन्नुभयो ।

पर्यटकीय पूर्वाधारहरु थपिदैं

मानहुँको पर्यटन विकासलाई प्राथमिकता दिँदै पर्यटकीय पूर्वाधारहरु थप गर्दै लगिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सोचे भन्दा बढी मानिस आएकाले पर्यटन प्रवद्र्धनका गर्न तत्काललाई ३० लाख रुपियाँ विनियोजन गरिएको जानकारी बताउनुभयो । बोर्ड बैठकले शौचालय, खानेपानी व्यवस्थापननको लागि तत्कालै २५ लाख र गुरुयोजनाको लागि ५ लाख गरी उक्त रकम व्यवस्था गरेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । मानुहुँको सम्भावनालाई बुझेर निर्वाचित भएर आउने वित्तिकै पर्यटन प्रवद्र्धनमा ध्यान दिएको नगर प्रमुख न्यौपानेको भनाइ छ । हरेक शहिद दिवसमा मानहुँबाट शहिदहरुको गाउँ पुलिम¥याङसम्म म्याराथन दौड प्रतियोगिता गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । २५ लाखको लागतमा रेलिङबार निर्माण गरिएको र ३७ लाखमा भ्यूटार, चमेना गृह निर्माण भईरहेको उहाँले जानकारी दिनुभयो । “मानहुँलाई जुन गतिमा अगाडि बढाएका थियौं त्यो भन्दा तिब्र गतिमा दबाब छ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो । साथै नगर प्रमुख न्यौपानेले मानहुँकोटको सार्वजानिक जग्गा संरक्षण गर्न दुई महिना सम्मको लागि जग्गा किनबेचको लागि प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । फोटो सौजन्य ः कृष्ण न्यौपानेको फेसबुकबाट

Advertisment