दमौली अस्पतालमा जीवनजल र सिटामोल अभाव

अमरराज नहर्की

तनहुँ, ९ मङ्सिर । तनहुँको जिल्ला स्तरीय दमौली अस्पतालमा लामो समय देखि औषधि अभाव भएको छ । यहाँ सिटामोल र जीवनजल समेत पाइन छाडेको विरामीले गुनासो गरेका छन् । औषधी नभएकोले झाडा पखला लागेर दमौली अस्पतालमा पुग्ने हो भने पनि विरामीले जीवनजल पनि नपाउने अवस्था छ । सामान्य मात्रै नभएर अति अतिसंवेदनशिल औषधी समेत अस्पतालमा अभाव छ ।

औषधी किन्न निजी क्लिनमा धाउन परेपछि न्यून आर्थिक अवस्था भएका विरामी समस्या परेका छन् भने पैसा तिरेर स्वास्थ्य विमा गर्नेहरु पनि औषधी नपाएपछि आक्रोशित छन् । अस्पतालको प्रशासनको लापरबाहीले गर्दा विरामीले औषधी नपाएका हुन् । दमौली अस्पतालमा लामो समय देखि औषधीको अभाव हुँदा विरामी मर्कामा परेका छन् । स्वास्थ्य विमा गर्नु भएकी व्यास नगरपलिका–३ पराशरटोल निवासी मधुमाया रानाभाटले चार महिना अघि देखी अस्पतालमा औषधी नपाएको जानकारी दिनुभयो । ‘पहिला पहिला औषधी पाईन्थ्यो पेसर, सुगरको औषधी नपाउँदा बाहिर किन्नु परेको छ ।’ स्वास्थ्य विमा गर्नेहरुले तनहुँको भिमाद स्थित अस्पतालमा भने औषधी पाएको तर विरामी प्रति संवेदनशिल नभएकाले दमौलीमा नपाएको मधुमायाले गुनासो गर्नु भयो ।
व्यास नगरपालिका–२ मालेबगर निवासी विनिता थापाले सबै अस्पताल बाहिर किन्नु परेकोले विमा गर्दा घाटा महशुस भएको बताउनुभयो । दमौली अस्पतालमा लामो समय देखि नै औषधी पाईएको छैन औषधी किन्न निजी मेडिकलमा जानु परेको विमामा गरेको लगानी खेर गएको जस्तो भयो ।’ विनिताले भन्नुभयो । यसरी नै औषधीको अभाव भयो भने विमा प्रति चासो नहुना सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्य प्रति नकरात्मक असर पर्ने विनिता बताउनुहुन्छ । ‘यस्तै हुने हो भने कसैले विमा गर्दैनन् ।’ विनिताले भन्नुभयो ।


अस्पतालको फार्मेसीमा बस्नुहुने अहेब अनिता थापाले ६ महिना भन्दा पनि अघि देखि नै औषधी पर्याप्त नआएको जानकारी दिुनभयो । ‘अन्य औषधीको त कुरै छोडौं जीवनजल र सिटामोलको औषधी पयाप्त छैन ।’ अहेब अनिताले भन्नुभयो । औषधी छैन भनेर धेरै पटक फिर्ता गर्नु पर्ने भएकोले विरामी आक्रोशित हुने गरेको उहाँले बताउनुभयो । सुगर, प्रेसर जस्ता नियमित औषधी खाने विरामी धेरै मर्का परेको अनिताले जानकारी दिनुभयो । अस्पतालको प्रशासन अधिकृत गुरुदक्त घिमिरे डेन्डर प्रक्रियामा ढिलाई हुँदा औषधीको अभाव भएको बताउनुभयो । ‘अब हामी डेन्टरको प्रक्रियामा गएका छौं दुई साता पछि औषधी आउँछ ।’ घिमिरेले भन्नुभयो । अस्पतालले सिधै औषधी किन्न नसक्ने र डेन्टर प्रक्रिया लम्बिन पुग्दा ढिलाई भएको उहाँ बताउनुहुन्छ । साथै घिमिरेले अस्पतालले टेन्डर गरी एक करोड रुपियाँको औषधी खरी गर्न लागेको जानकारी दिनुभयो ।
दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले विरामीले औषधी नपाएको गुनासो आएपछि अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई बारम्बार समस्याबारे बताए पनि समाधान नभएको बताउनुभयो । ‘टेन्डर गरी चाँडै नै समस्या हल गर्न भनेको छु समाधान नभएमा पत्रकार सम्मेलन गरेर जानकारी दिन्छु भनेको छु ।’ अधिकारीले गोरखापत्रसँग भन्नुभयो । दमौली अस्पतालमा तनहुँका अतिरिक्त कास्कीको पूर्वि भेग लमजुङ र गोरखाको दक्षिणी भेगका वासिन्दा पनि उपचारको लागि आउने गर्छन् । अस्पतालमा बिरामीको चाप बढ्दो छ तर निःशुल्क पाइने औषधि समेत नपाइँदा सेवाग्राही मर्कामा छन् दैनिक एक जना भन्दा बढी विरामी अस्पतालमा आउने गरेको तथ्याङ्कमा उल्लेख छ । सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे दमौली अस्पतालमा सामान्य औषधि नपाउँदा समेत सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । समस्याको बारेमा जानकारी लिन डा.पौड्याललाई फोन गर्दा उठेन ।

Advertisment