भारतीय विदेश सचिव नेपाल भ्रमणमा, दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल 

काठमाडौँ, १२ मङ्सिर । विहिबारबाट नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवद्र्वन श्रृंगला विभिन्न कार्यक्रममा आज पनि व्यस्त रहनुभएको छ । भ्रमणको पहिलो दिन विदेश सचिव श्रृंगलाले नेपालका परराष्ट्र सचिव भरतराज पौड्याललाई भेट्नुभयो । सोही क्रममा विदेश सचिव श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के पी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटवार्ताहरु सौहार्दपूर्ण र सकरात्मक वातावरणमा सम्पन्न भएको थियो ।


बैठकमा दुई परराष्ट्र सचिवले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल एवम् समीक्षा गर्नुभएको जनाइएको छ । उहाँहरुले महामारीले निम्त्याएको विषम परिस्थितिको बाबजुद सहकार्यको विविध क्षेत्रमा भएका उल्लेखनीय प्रगतिमा सन्तुष्टि व्यक्त गर्नुभएको नेपालस्थित भारतीय दूतावासद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । यस अवधिमा सीमामा व्यापार र वाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरूको सक्रिय कार्यान्वयन सुनिश्चित गर्न भारत सरकारले खेलेको भूमिकाको नेपाली पक्षले सराहना ग¥यो । दुवै परराष्ट्र सचिवले सीमा सम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमा सम्बन्धी कार्यहरु सम्पन्न गर्ने बारे आफ्ना विचारहरु साटासाट गर्नुभयो । दुवै देशका परराष्ट्र सचिवले उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरूबीच परम्परागत रूपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति जनाउनु भयो । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा विदेश सचिव श्रृंगलाले भारतका राष्ट्रपतिको सन्देश सुनाउनु भयो । उहाँहरुले दुई देशबीचको घनिष्ट सम्बन्ध र यसलाई अझ मजबुत बनाउने तरिकाहरु बारे छलफल गर्नुभयो । नेपालका प्रधानमन्त्रीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव श्रृंगलाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनुभयो ।

वहाँले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र समकक्षी भरतराज पौड्यालसँग भएको फलदायी भेटवार्ताबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिनुभयो ।


परराष्ट्रमन्त्रीसँगको भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरण र द्विपक्षीय आदानप्रदान र सहकार्यको दिशालाई अघि बढाउनेबारे विचार आदानप्रदान भयो । विदेश सचिव श्रृंगलाले कोभिड–१९ को चुनौतीलाई सामना गर्न भारतले गरेको उल्लेख्य प्रगतिबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराउनुभयो । विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाउनुभएको निमन्त्रणा पनि सुनाउनुभयो ।

बैठकपछिको एउटा छुट्टै समारोहमा भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि २००० थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गर्नुभयो । भारत सरकारले गत अप्रिल महिनादेखि नै कोभिड—१९ विरुद्व लड्न आवश्यक औषधी, उपकरण तथा क्षमता विकासमा नेपाललाई सहयोग पु¥याइरहेको छ । अहिलेको सहयोग पनि त्यसकै निरन्तरता हो । कोभिड—१९ सम्बन्धी हर सहयोग पु¥याउन नेपाललाई भारतको निरन्तर साथ रहने कुराको आश्वासन पनि उहाँले दिनुभयो । आज पनि भारतीय विदेश सचिव श्रृंगाला विभिन्न कार्यक्रममा सरिक रहनुहुने छ ।

Advertisment