पुनर्निर्माणका अनुभव र सिकाइसम्बन्धी वेविनार सुरु

काठमाडौं, १२ मंसिर \ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका अनुभव तथा सिकाईहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न आयोजित दुई दिने वेविनार सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकामा मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको हो ।वेविनारको उद्घाटन गर्दै प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विज्ञहरु तथा अभ्यासकर्ताहरुको सुझावले कम्पेडियमलाई पूर्णता दिन ठूलो मद्दत मिल्ने उल्लेख गर्नुभयो । त्यसक्रममा उहाँले प्राधिकरणले विभिन्न दस्तावेजहरुमार्फत् पुनर्निर्माणका अनुभव र सिकाइहरु अभिलेख गर्न लागिरहेको जानकारी पनि दिनुभयो ।


त्यसैगरी, प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतका अनुभव र सिकाईका आधारमा पुनस्र्थापना र पुनर्निर्माणका बाँकी कामहरु अगाडि बढाइने बताउनुभयो ।
प्राधिकरणले आगामी वर्ष आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी सातवटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, पुनर्निर्माण र पुनर्स्थापनाका अभ्यासकर्ताहरु तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतका सहभागिता थियो । पहिलो दिन तीनवटा कार्यपत्रमाथि छलफल वेविनारको पहिलो दिन आज तीनवटा विषयहरु क्रमशः निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि कार्यपत्रहरु प्रस्तुत गरिएका छन् । कार्यक्रमको पहिलो सत्रमा निजी अवास पुनर्निर्माणसम्बन्धी प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठको कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा डा. श्रेष्ठले ग्रामीण क्षेत्रमा निजी आवास पुनर्निर्माणको प्रगति उत्साहजनक भए पनि शहरी क्षेत्रमा जग्गा तथा आर्थिक अवस्था कारण तुलनात्मक रुपमा कम रहेको उल्लेख गर्नुभएको छ ।

डा. श्रेष्ठको कार्यपत्रमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माण विज्ञ नाइजल फिसर, जाइकाका राम प्रसाद भण्डारी, स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञ म्यागी स्टेफेनसनले टिप्प्णी गर्नुभएको थियो । दोस्रो सत्रमा साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणको पछिल्लो अवस्था एवं अनुभवहरु संलग्न गरेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही विषयमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) का रोहित रञ्जितकारले पनि विश्व सम्पदा सूचीका सम्पदाहरुको क्षति र पुनर्निर्माणको अवस्थाबारे कार्यपत्र राख्नुभएको थियो ।  उहाँहरुका कार्यपत्रहरुमाथि युनेस्कोका क्रिस्टियन म्यानहर्ट, सम्पदा विज्ञ रोहित जिज्ञासु, सम्पदा विज्ञ प्रा.डा.सुदर्शनराज तिवारीले टिप्पणी गर्नुभयो । साथै, चीनको सहयोगमा पुनर्निर्माण भइरहेका नौतले दरबारमा संलग्न चिनिया सम्पदा विज्ञ क्वाओ क्वानरुले पनि टिप्पणी गर्दै नेपालको सम्पदा पुनर्निर्माणमा प्राप्त अनुभव सुनाउनुभएको थियो । यो सत्रको अध्यक्षता प्राधिकरणका निर्देशक समिति समिति सदस्य एवं पूर्व सचिव किशोर थापाले गर्नुभएको थियो ।  तेस्रो सत्रमा सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणहरु खासगरी ठूला सार्वजनिक संरचनाहरु, अस्पतालहरु, सरकारी तथा सुरक्षा निकायका भवनहरु, सडक तथा पुलहरु, विद्यालयहरु तथा सरकारी कार्यालयहरुको पुनर्निर्माणमा प्राप्त अनुभवहरु तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिहरुबारे कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । ती विषयहरुमाथि क्रमशः पुनर्निर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद अर्याल, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक अमृत श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना उपनिर्देशक डा. युवराज पौडेल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना उपनिर्देशक राजु न्यौपानेले पत्रहरु प्रस्तुत गर्नुभयो ।

ती पत्रहरुमाथि चीनले सहयोग गरिरहेका पुनर्निर्माण परियोजनामा संलग्न चिनिया विज्ञ लु यिन, जाइकाका कृष्ण लम्साल र स्वतन्त्र विज्ञ पूर्ण प्रसाद कडरियाले टिप्पणी गर्नुभएको थियो । तेस्रो सत्रको अध्यक्षता प्राधिकरणका कार्यकारी समिति सदस्य डा.हरिराम पराजुलीले गर्नुभएको थियो । शनिबार जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुतीकरणमा ती पत्रमाथि छलफल हुनेछ । साथै, प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको सम्बन्धमा पनि सुझाव संकलन गरिनेछ ।

Advertisment