नेकपा सचिवालय बैठक आज दिउँसो बस्दै

काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज शनिबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पूर्वनिर्धारित सो बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री एवं नकेपाका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको पनि जनाइएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोपसहित प्रस्ताव प्रस्तुत गर्नुभएकोमा त्यसको जवाफसहित प्रम ओलीले आजको बैठकमा आफ्नो भनाई राख्नुहुनेछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको जवाफ तयार भएको जानकारी दिनुभएको छ ।

मङ्सिर ३ मा भएको नेकपाको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गर्नुभएअनुसारनै लिखित भनाई राख्न दश दिनको समय तोकेको थियो । सो बैठकमा प्रम ओलीले आफूमाथि लगाइएको आरोप खारेज हुनुपर्ने र सही नठहरिएमा आरोप लगाउनेनै जिम्मेवार हुनुपर्ने भनाई राख्नुभएको थियो । उक्त दिनको बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णयसमेत गरेको थियो ।

Advertisment