नेकपा सचिवालय बैठक बालुवाटरमा शुरु

काठमाडौं, १३ मङ्सिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । दिउँसो शुरु भएको सो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्यहरु सहभागी हुनुहुन्छ । पार्टीमा आन्तरिक रुपमा श्रृङ्खलाबद्ध विवाद बढ्दै गईरहेको बेला भएको यो बैठकलाई निकै चासको साथ हेरिएको छ ।

पूर्वनिर्धारित सो बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री एवं नकेपाका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको पनि जनाइएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोपसहित प्रस्ताव प्रस्तुत गर्नुभएकोमा त्यसको जवाफसहित प्रम ओलीले आजको बैठकमा आफ्नो भनाई राख्नुहुनेछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको जवाफ तयार भएको जानकारी दिनुभएको छ ।

 

मङ्सिर ३ मा भएको नेकपाको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गर्नुभएअनुसारनै लिखित भनाई राख्न दश दिनको समय तोकेको थियो । सो बैठकमा प्रम ओलीले आफूमाथि लगाइएको आरोप खारेज हुनुपर्ने र सही नठहरिएमा आरोप लगाउनेनै जिम्मेवार हुनुपर्ने भनाई राख्नुभएको थियो । उक्त दिनको बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णयसमेत गरेको थियो । फोटो सौजन्य ः प्रमको निजी सचिवालय

Advertisment