काँग्रेस नेता प्रकाशमान सिंहद्धारा संसद अधिवेशन बोलाउन माग

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ । काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहलेसुन्न चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरे ।
‘बजेट सेसन अपर्झट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो,’ नेता सिंहले भने, ‘अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्छ ।’ जनप्रतिनिधिहरुले जनताका दुःख दर्दहरु र सरकारले गर्न नसकेका कामहरु संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउनतिर लाग्नुपर्ने उनले बताए । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए ।
ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाए । ‘बसमा, घरमा, पार्कमा, सार्वजनिक स्थानमा जनताले भन्दै आएको कुरालाई ट्रान्सपरेन्सी इन्टनेशनलले त पुष्टि गरिदिएको छ । प्रधानमन्त्री नै भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचारलाई संरक्षण गरेको भनेर रिपोर्ट आएको छ,’ उनले भने । ‘यो कुरा ट्रान्सपरेन्सी इन्टनेशनलले मात्र होइन, जनताले मात्र होइन, प्रमुख प्रतिपक्षी दल कांग्रेसले मात्र बोलिरहेको होइन, नेकपाको एउटा अध्यक्षले अर्को अध्यक्षलाई भ्रष्टाचार गरेको चार्ज लगाउनु भएको छ,’ नेता सिंहले भने \ ’
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले आपसी खिचातानीमा अल्झिने र देशलाई दुर्गतितिर धकेल्ने काम नगर्न पार्टीका नेताहरुलाई आग्रह गरे । कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले छिटो नेपाली कांग्रेसको महाधिवेशन गरी योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।

Advertisment