नेकपा सचिवालय बैठक आज दिउँसो एक बजे बस्ने

काठमाडौँ, १६ मङ्सिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो एक बजे बस्ने भएको छ ।

यसअघिको बैठकले आजको बैठक पार्टी कार्यालयमा बस्ने तय गरेको थियो । सो बैठकमा यस अघि मङ्सिर १३ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको ३८ पृष्ठ लामो ५३ बुँदे प्रस्तावमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुहुने जनाइएको छ ।

जवाफ लिखित वा टिपोटका रुपमा मौखिक हुन सक्ने बताइएको छ । त्यसअघि कात्तिक २८ गते अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो प्रस्तावका बारेमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मङसिर १३ को बैठकमा लिखित जवाफ दिनुभएको थियो ।

आज ती दुवै प्रस्ताव उपर छलफल हुनेछ । पार्टीमा विवादको श्रृङखला बढ्दै जाँदा हुने आजको नेकपा सचिवालयको बैठकलाई निकै चासको साथ हेरिएको छ।

नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

Advertisment