राष्ट्रिय परीक्षा वोर्डले एक महिनामै कक्षा १२ को नतिजा निकाल्ने तयारी


काठमाडाँैं, १७ मङ्सिर । राष्ट्रिय परीक्षा वोर्डले एक महिनाभित्रै कक्षा १२ को नतीजा निकाल्ने भएको छ ।

शैक्षिक सत्र प्रभावित नहुने गरी वोर्डले परीक्षा सकिएलगत्तै महिनादिनभित्रै नतिजा निकाल्ने जनाएको हो । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको रिजल्ट महिनादिनभित्रै निकाल्ने तयारी गरिएको र त्यसले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको मार्ग प्रशस्त गर्न सहज हुने बताउनुभयो ।

त्यसको लागि परीक्षा वोर्डले एक साताभित्र उत्तरपुस्तिका परीक्षण गर्ने तयारी गरेको र देशभरका विद्यालयबीच समन्वय पनि गरीरहेको बताइएको छ । विद्यालयका विषयगत शिक्षकले नै उत्तरपुस्तिका जाँच्ने भएकाले एकसातामा नै जाँच्ने काम सकिने अनुमान गरिएको छ । विद्यालयले कपी जाँचेर पठाईदिएपछि तीनसाताभित्र प्राप्ताङक चढाएर प्रकाशन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

मङ्सिर ९ गते शुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा हिजो सकिएको थियो जसमा चार लाख बढी विद्यार्थी भौतिक रुपमै उपस्थित भएका थिए ।

यसपटक डेढ घण्टा परीक्षा समय तोकिएको थियो । यसचोटि कक्षा १२ को परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन जोडिने र कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ ।

Advertisment