काँग्रेस नेता पौडेल रिहा : पार्टीलाई निषेध गरिएको आरोप, भोलि आन्दोलनका कार्यक्रम

दमौली, १७ मङ्सिर । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा पक्की पुल उद्घाटन गर्न जाने क्रममा आज पक्राउ पर्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चौतर्फि विरोध भएपछि साँझ साँढे पाँच बजे रिहा हुनुभएको छ ।

उहाँलाई प्रहरीले दिउँसो पुल उदघाटन स्थलबाट पक्राउ गरेको थियो । घट्नाको विरोधमा जिल्ला काँग्रेसले भोलि आन्दोलनका कार्यक्रम गर्ने तय गर्ने भएको छ ।

प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो । पार्टी कार्यालय दमौलीमा आयोजित कार्यक्रममा नेता पौडेलले भन्नुभयो, “ पक्राउ परेको घटनाप्रति देशभर निन्दा भइरहेको छ”, उहाँले भन्नुभयो, “उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।” प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएकोमा वरिष्ठ नेता पौडेलको कडा आपत्ति थियो । सो घटनाको विरोधमा नेपाली काँग्रेस तनहुँले बिहिबार बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्नेभएको छ ।

जिल्लाका कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन शुरु गरिने घोषणा गर्नुभयो । आज अपराह्न प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पोखरेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काङ्ग्रेसले जनाएको छ ।

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोधसभा आयोजना गरेको थियो । दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

Advertisment