पूर्वाधार निर्माण क्षेत्रमा एक दशकमा ठूलो परिवर्तन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले पूर्वाधार निर्माणको क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको बताउनुभएको छ । मन्त्रालयमा तुलनात्मकरुपमा गत वर्षभन्दा राम्रो प्रगति देखिएको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को पहिले चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । मन्त्री नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहीनरुपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक रहेको बताउनुभयो । समयानुसार विकासको माग र मोडेल फरक हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजो जनताको माग सडक कालोपत्र गर्ने थियो, आज छ लेनको सडक अनि पहाडमा सुरुङको आवश्यकता भएको छ ।” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले भौतिक पूर्वाधार मन्त्रालय स्थलगतरुपमा काम गर्ने मन्त्रालय भएको र यहीअनुसार काम पनि गरिरहेको बताउनुभयो ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप लगनशीलताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले आयोजना प्रमुखलाई कार्यस्थलमा समय दिनसमेत निर्देशन दिनुभयो ।

Advertisment