काठमाडौंमा केन्द्रीय सहकारी बजार शुरु : सहकारी बजारले सिधै किसानलाई लाभान्वित गर्छ ः मन्त्री अर्याल

काठमाडौंँ, १९ मङ्सिर । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज उक्त बजारको उद्घाटन गर्नुभएको हो । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो । नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ ।

कार्यक्रममा मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताउनुभयो । ‘सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो । उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको भन्दै मन्त्री अर्याले यसलाई अझ बिस्तार गरिने बताउनुभयो । किसानले उत्पादन गरेको उत्पादित सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । ‘किसानले उत्पादन गरेको तरकारी, अण्डा, फलफूल, दुध लगायतका सामग्री बाटोमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगती हुँदैन । किसानहरुलाई उत्साहित बनाउन बजारको व्यवस्थापन आवश्यक छ ।’
बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरु मुलुकमा अत्यधिक भएको भन्दै मन्त्री अर्यालले त्यसलाई मर्ज गर्ने अभियान सञ्चालन गरिएको र अब व्यवसायिकता, उत्पादनसँग जोडिएका सहकारीलाई जोड दिनुपर्ने बताउनुभयो । ‘अब संस्थाको संख्या मात्रै धेरै होइन । कम सहकारी संख्याका माध्यमबाट धेरैभन्दा धेरै काम गर्ने कुरामा जोड लिनुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो ।

Advertisment