प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नेकपा स्थायी कमिटिको बैठक धुम्वाराहीमा शुरु

काठमाडौ, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक पार्टी कार्यालय धुम्वाराहीमा शुरु भएको छ । सो बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुनुहुन्न ।

पार्टीको शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले यसअघि प्रस्तुत गर्नुभएको प्रस्ताव छलफल गर्ने गरी आइतबार पार्टी कार्यालय धुम्वाराहीमा स्थायी समिति बैठक वस्ने निर्णय गरेको थियो । सो बैठकमा स्थायी समिति बैठक अहिले आवश्यक नभएको भन्दै प्रधानन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफू सहभागी नहुने जनाउ दिनुभएको थियो । उक्त सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाउने वा सचिवालयमै सहमतिको प्रयास गर्ने कुरामा सहमति जुटन नसकेपछि दुवै अध्यक्षको प्रस्तावसहित अव पार्टीभित्र देखिएको विवादबारे स्थायी समितिमा छलफल हुने बताइएको थियो । शनिबारको सचिवालय बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सङ्कट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिनुभयो । सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादलले दुवै प्रस्तावलाई साझा बनाएर लान गर्नुभएको प्रस्तावमा इश्वर पोखरेल, विष्णु पौडेलले सकारात्मक जवाफ दिनुभएपनि बैठकले त्यसलाई स्वीकृति दिएन । सचिवालय बैठक अघि हिजो प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाबीच एक्ला एक्लै छलफल भएको बताइएको छ । पार्टीमा विवाद बढ्दै गईरहेको बेला दुवै अध्यक्षबीच २५ दिन यता एक्लाएक्लै संवाद हुन सकेको थिएन ।

Advertisment