कास्की नेत्रहिन संघको १० औा अधिवेशन सम्पन्न

पोखरा, २२ मंसिर । कास्की भित्र बसोबास गर्ने दृष्टिविहिन तथा न्यून दृष्टियुक्त व्यक्तिहरुका लागि काम गर्ने संस्था कास्की नेत्रहिन संघको दशौा अधिवेशन तथा २३ औा वार्षिक साधारण सभा शनिबार संघको कार्यालय पोखरा २६, बूढीबजारमा सम्पन्न भएको छ ।

अधिवेशनले श्रीकान्त सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिबार अबेर गरी सम्पन्न निर्वाचनबाट आगामी ३ वर्षका लागि अध्यक्ष श्रीकान्त सापकोटा, उपाध्यक्ष अमृत बराल, सचिव कुशलराज पोडैल, कोषाध्यक्ष सम्राट गौतम, सहसचिव सुनिता ज्ञवाली, सदस्यहरु अक्षय खड्की, ज्योति पौडेल, हिता गुरुङ र तिलमाया वि.क. निर्वाचित भएका हुन् ।

अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्याक्ष र ३ जना महिला सदस्य निर्विरोध निर्वाचित भएकोमा सहसचिव र खुला सदस्य पदका लागि मतदान गराइएको थियो । जसमा शुशिल गोदारलाई पछाडि पार्दै सुनिता ज्ञवाली सहसचिव र प्रमोद दाहाल, गोविन्द रिजाल र विशाल त्रिपाठीलाई पछि पार्दै अक्षय खड्की सदस्यमा निर्वाचित भएका छन् । संघलाई आगामी ३ वर्षभित्रमा आन्तरिक व्यवस्थापन र बाह्य सम्बन्धमा अब्बल बनाउने, कोभिड सक्रमणबाट सिर्जित परिस्थिति अनुरुप स्वास्थ्य क्षेत्र, शिक्षा, रोजगार र स्वरोजगार, सूचना प्रविधि, सशक्तिकरण, क्षमता अभिवृद्धि लगायतका क्रियाकलापलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने कुरा नवनिर्वाचित अध्यक्ष श्रीकान्त सापकोटाले बताएका छन् ।

नेपाल नेत्रहिन संघका केन्द्रिय सचिवालय सदस्य खुमराज शर्माको प्रमुख आतिथ्य तथा कास्की नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनले संघका सचिव शोभा पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमृत बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

Advertisment