नेपालको परराष्ट्र नीतिको एकिकृत दस्तावेज २०७७ र परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडाँै, २२ मङ्सिर । सरकारले नेपालको परराष्ट्र नीतिको एकिकृत दस्तावेज २०७७ र परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ती दस्तावेज सार्वजनिक गर्नुभएको हो । उक्त परराष्ट्र नीति गत कात्तिक ४ गतेको मन्त्रिपरिषद वैठकले पारित गरेको हो ।


नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्रनीति सार्वजनिक गरेको हो । स्वतन्त्र र सन्तुलित परराष्ट्रनीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको प्रवद्र्धन गर्ने लक्ष्य सो नीतिको रहेको छ । छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्नु, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्धन, विश्वशान्ति स्थापना, निःशस्त्रीकरण, मानव अधिकारको संरक्षण र प्रवर्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनीकरण, महामारी, आतङ्कवाद तथा ‘साइबर’ अपराध नियन्त्रण, सुरक्षित आप्रवासन र भूपरिवेष्टित राष्ट्रका अधिकार प्राप्तिका लागि बहुपक्षीय मञ्चमा प्रभावकारी भूमिका निर्वाह, विधिमा आधारित न्यायपूर्ण, समावेशी र निष्पक्ष विश्वव्यवस्था निर्माणका लागि सहकार्य गर्ने, क्षेत्रीय सहयोग, शान्ति र सहकार्यको प्रवद्र्धनलाई उक्त नीतिले आफ्नो मूल उद्देश्य बनाएको छ ।

परराष्ट्र-नीति-२०७७

 

Advertisment