काँग्रेसद्धारा उखु कृषकहरुको मूल्यको बक्यौता चुक्ता गराउन र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन माग

काठमाडौँ, २ पुस । नेपाली काँग्रेसले कृषकहरुको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन सरकारले ठोस एवं प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ ।

सो पार्टीको कृषि सम्बन्धी समन्वय समितिका संयोजक पदमनारायण चौधरीले आज एक विज्ञप्ति जारी गरी उखु विक्री वापतको भुक्तानी पाउनका लागि गरिब किसानहरु काठमाडौंको चिसोमा चार दिन देखि पुनः एक पल्ट आन्दोलनरत र विगतमा सरकारी रोहबरमा कृषक र उद्योगी बिच भएको सहमति हालसम्म कार्यान्वयन भएको छैन भन्दै विभिन्न समयमा राष्ट्रपति देखि सरकार र सरोकारवाला समक्ष हारगुहार गर्दा पनि उखु कृषकले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौं आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष हो भन्नुभएको छ । उहाँले यस विषयप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउँदछौं भन्नुभएको छ ।

“सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै लज्जास्पद विषय हो । सरकारको यस उदासिन कार्यप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं र सरकारलाई सहमति मात्र गराउने हैन कार्यान्वयन गराउन पनि अग्रसर हुनका साथै कृषकहरुको माग प्रति गम्भीर हुनको लागि जोडदार माग गर्दछौं”, विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा कृषकहरुको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन सरकारले ठोस एवं प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।

Advertisment